पाँचथरमा पाँचदिनदेखि हराइरहेका दाजु-बहिनी मृत अवस्थामा भेटिए

मंगलबार, २० साउन २०८२

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुका पाँच दिनदेखि सम्पर्कविहीन रहेका दाजु–बहिनी मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राईको शव मङ्गलबार बिहान बिरुवा खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

वडाध्यक्ष राजेन्द्र खालिङका अनुसार उनीहरू आफ्ना हजुरबा–हजुरआमासँग विद्यालय नजिकैको घरमा बस्दै आएका थिए । गत साउन १४ गते बेलुका पिताकोमा गएको तर नभेटिएपछि छिमेकीको घरमा बास बसेर साउन १५ गते बिहान पुनः हजुरबाकोमा जाने भन्दै निस्किएका दाजु–बहिनी त्यसपछि सम्पर्कविहीन भएका थिए ।

वडाध्यक्ष खालिङले अभिभावकहरूबीच समन्वयको अभावका कारण खोजीमा ढिलाइ भएको जनाए । लगातार चार दिनसम्म खोजी गर्दा पनि उनीहरू फेला नपरेपछि मङ्गलबार बिहान बिरुवा खोलामा दुबै जनाको शव भेटिएको हो ।

प्रहरी निरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बालबालिका हराएको सूचना पाएलगत्तै प्रहरी चौकी च्याङथापु, जिल्ला प्रहरी कार्यालय तथा स्थानीयवासीको टोली खोजीमा खटिएको थियो । हाल घटनाको अनुसन्धान भइरहेको र दुबै शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार