प्रेम विवाहपछि यातना : श्रीमती मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा

सोमबार, १९ साउन २०८२
मृतक सम्झना भट्ट

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेपछि घटनाले रहस्यपूर्ण मोड लिएको छ।

आइतबार आफ्नै घरभित्र २० वर्षीय सम्झना भट्टको शव झ्याल ढोकामा चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मृतक सम्झनाको शरीरमा कुटपिटका घाउ–चोट देखिएको र विगतदेखि घरेलु हिंसामा परिआएको आशङ्का गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराले श्रीमान पवन भट्टसँग सोधपुछ जारी रहेको जानकारी दिए।

गत फागुनमा प्रेम विवाह गरेका सम्झना र पवनबिच सम्बन्ध पछिल्लो समय तनावपूर्ण हुँदै गएको बुझिएको छ।

सम्झनाका बुबा भोजराज भट्टका अनुसार पवनले छोरीलाई पटक–पटक मानसिक तनाव र शारीरिक यातना दिने गरेका थिए। यही विषयमा शनिवार मात्रै सम्झनाका आमाबुबाले इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिएका थिए। प्रहरीको मिलापत्रपछि सम्झना घर फर्किएकी थिइन्।

सम्झनाको रहस्यमय मृत्युप्रति परिवारले गम्भीर शङ्का व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

कक्षा १२ मा अध्ययनरत छोरी गुमाउनु परेको पीडामा डुबेको भट्ट परिवार न्यायको खोजीमा छ। प्रहरीले घटनालाई आत्महत्या वा हत्या भन्नेबारे अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार