आज साउनको तेस्रो सोमबारः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

सोमबार, १९ साउन २०८२

काठमाडाैं : साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा पूजाआजा र दर्शन गर्ने भक्तजनको भीड छ। साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए। त्यसबेलादेखि नै पशुपतिनाथमा भक्तजनको भीड छ।  

अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ। पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा र दर्शन गरे मनोकामना पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड देखिन्छ। 

रातो र हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ। साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ। भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव जोशीले जानकारी दिए।

यस वर्षको साउनको पहिलो सोमबारदेखि कोषको अग्रसरतामा चक्रपथमा चारवटा बस भक्तजन ल्याउन चलाइएको छ। निःशुल्क चलाइएको यी बसमार्फत भक्तजनले सहज रूपमा पशुपतिनाथमा आएर दर्शन गर्न पाएको प्रतिक्रिया दिएका छन्। विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भनाइ प्रचलित छ। धर्मशास्त्रविद् र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम सुख, शान्ति र समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन्। 

घरघरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति र पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन्। यस वर्ष साउनमा चारवटा सोमबार परेकामा आज तेस्रो सोमबार विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड देखिन्छ। साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ। पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता छ। विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरूले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन्।

गोकर्णेश्वरमा बालयन्त्रको दर्शन
यसैगरी राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा–आराधना गर्ने प्राचीनकालदेखिको परम्पराले एउटा मन्दिरमा पूजा र दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यता छ। यही मान्यताका आधारमा बिहानैदेखि मन्दिरमा भक्तजनको चाप देखिएको हो। 

बागमतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि भीड छ। आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन्। आइतबार ओम बोलबम काँवरिया सङ्घमा आवद्ध भक्तजन सुन्दरीजल गई बसेका थिए। यी भक्तजनले आज बिहानैदेखि शुद्ध जल ल्याएर भगवान् पशुपतिनाथलाई अर्पण गरिरहेका छन्।

जल चढाउने परम्परालाई भक्तजनले बोलबम भन्छन्। पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोलबम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन्। बोलबम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरसहित बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन्। 

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाईको दूधसहित अर्पण गर्ने परम्परा छ। वर्षमा एकपटक साउन महिनामा घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परा पनि नेपाली समाजमा छ। यसरी रुद्राभिषेक गरेमा नराम्रो शक्तिको प्रवेश नहुने, सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने पौराणिक मान्यता छ। 

नागेश्वरमा भक्तजनको लाम
पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड छ। दर्शनार्थीलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले राससलाई जानकारी दिए। 

मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड छ। बिहानैदेखि पानी पर्ने–रोकिने क्रमसँगै भक्तजन झरी परेका बेला छाता ओढेर पनि लाममा बसिरहेको उनले जानकारी दिए। राजधानीका अन्य शिवालय वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरसहित स्थानमा पनि भक्तजनको भीड छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार