इटहरी : प्रसिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छ ।
ट्राफिक प्रहरीका अनुसार चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयराम घाटनजिक दुर्घटनामा परेको हो । हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर १७ जना घाइते भएको र ४ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किँदै गरेको गाडी दुैघटनामा परेको हो ।
स्थानीयको सहयोगमा उद्धार गरेर प्रहरीले घाइतेहरूलाई उपचारका लागि घुर्मी सामुदायिक अस्पताल लगेको छ । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुर्घटना लगत्तै चालक फरार भएका छन् । फरार रहेका चालकको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । थप विवरण प्राप्त हुन बाँकी छ ।
प्रतिक्रिया