इटहरीको कस्तुरी कलेजले फड्को मार्‍यो, पहिलो पटक सुरु गर्‍यो B.I.T. को पढाइ

सोमबार, १९ साउन २०८२

इटहरी :  इटहरीस्थित कस्तुरी कलेजले स्थानीय शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै इटहरीमै पहिलोपटक B.I.T. (ब्याचलर अफ इन्फरमेशन टेक्नोलोजी) विषयको अध्ययन अध्यापन सुरु गर्ने भएको छ ।

वि.सं. २०५५ सालमा ८ जनाको समूहले स्थापना गरेको कस्तुरी कलेजले सूचना प्रविधिको क्षेत्रको तीव्र विकासलाई मध्यनजर गर्दै आधुनिक प्रविधियुक्त B.I.T. कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कलेजका प्रिन्सिपल कमलेश पौडेलका अनुसार पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो विषय अध्ययन गर्न विद्यार्थीलाई यसअघि विराटनगरदेखि काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो ।

अब इटहरीमै पढ्न सकिने भएपछि स्थानीय विद्यार्थी लाभान्वित हुने कलेजको विश्वास छ ।

सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अपार सम्भावना देखिएको वर्तमान अवस्थामा इटहरीमै B.I.T. को पठनपाठनले पूर्वी नेपालका विद्यार्थीलाई सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रिन्सिपल पौडेलले नयाँ कार्यक्रमसँगै व्यावसायिक तालिम, इन्टर्नसिप, र उद्योगसँग सहकार्य गरेर विद्यार्थीलाई प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको जानकारी दिए ।

कलेजका उपप्राचार्य भूपेन्द्र न्यौपानेले कलेजको स्थापनासँगै इटहरी तथा वरपरका विद्यार्थीलाई आधुनिक प्रविधिमैत्री शिक्षा अध्ययन गर्ने अवसर मिलेको बताएका छन्।

उनका अनुसार सुरु गर्न लागेको ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी (बिआइटि) कार्यक्रमले प्रविधिमा रुचि राख्ने विद्यार्थीका लागि ठुलो अवसर सिर्जना गरेको छ।

‘‘अब इटहरीमै बसेर गुणस्तरीय बिआइटि अध्ययन गर्न सकिन्छ,’’ न्यौपानेले भने, ‘‘यस अध्ययन पश्चात् विद्यार्थीले रोजगारीको अभाव झेल्नुपर्दैन।’’

उनले विश्वभर सूचना प्रविधिको माग बढिरहेका बेला कस्तुरी कलेजबाट प्राप्त ज्ञानले विद्यार्थीलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा सजिलै रोजगारी दिलाउने विश्वास व्यक्त गरे।

कलेज प्रशासनका अनुसार बिआइटि कार्यक्रमलाई उच्च गुणस्तरीय बनाउने उद्देश्यले अनुभवी शिक्षक, अत्याधुनिक कम्प्युटर ल्याब र उद्योगमैत्री पाठ्यक्रमको व्यवस्था गरिएको छ।

इटहरीमा पहिलो पटक बिआइटि पढाइ सुरु गरेको कस्तुरी कलेजले सूचना प्रविधिका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार