काठमाडौं : बंगलादेशको अन्तरिम सरकारले देशका प्रथम राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री शेख मुजिबुर रहमानको 'राष्ट्रपिता' को दर्जा खारेज गरेको छ। एक अध्यादेश जारी गर्दै सरकारले ‘राष्ट्रपिता बंगबंधु शेख मुजिबुर रहमान’ भन्ने शब्दावली सबै कानुनी दस्तावेज र नियमावलीबाट हटाएको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस निर्णयसँगै १९७१ को स्वतन्त्रता संग्रामको व्याख्या र स्वतन्त्रता सेनानीको परिभाषा पनि व्यापक रूपमा परिवर्तन गरिएको छ। नयाँ परिभाषाअनुसार, मार्च २६ देखि डिसेम्बर १६, १९७१ सम्म भारतमा तालिम लिई पाकिस्तानी सेना र सहयोगीहरू विरुद्ध लड्ने सबै नागरिक स्वतन्त्रता सेनानी मानिनेछ। साथै, सशस्त्र बल, प्रहरी, मुक्ति वाहिनी, मुजिबनगर सरकारका अंग, नौसेना कमाण्डो, किलो फोर्स, अन्सार सदस्यहरू र युद्धको समयमा यातना भोगेका महिलाहरू (वीरंगना) तथा लडाइँमा घाइते भएकाहरूको उपचार गर्ने स्वास्थ्यकर्मीहरूलाई पनि यो सूचीमा समावेश गरिएको छ।
नयाँ परिभाषाले शेख मुजिबुर रहमानको नाम हटाउँदै स्वतन्त्रता संग्रामलाई जनताको सशस्त्र संघर्षको रूपमा चित्रण गरेको छ। यसअघि स्वतन्त्रता संग्राम शेख मुजिबुरको अपीलबाट सुरु भएको मानिन्थ्यो।
हालै १ जुनमा अन्तरिम सरकारले जारी गरेको नयाँ मुद्रा नोटबाट समेत शेख मुजिबुर रहमानको तस्वीर हटाइएको छ। नोटमा हिन्दू र बौद्ध मन्दिरहरूको तस्बिर समावेश गरिने जनाइएको छ। यद्यपि, पुराना नोट र सिक्का भने यथावत् चलनमा रहनेछन्।
यसअघि जनवरीमा पाठ्यपुस्तकहरूमा समेत ठूलो परिमार्जन गरिएको थियो। नयाँ किताबहरूमा १९७१ को स्वतन्त्रता युद्धमा शेख मुजिबुर रहमान होइन, पूर्व राष्ट्रपति जियाउर रहमानलाई स्वतन्त्रताको घोषणाकर्ता र मुख्य नेतृत्वदायी व्यक्ति बताइएको छ। जियाउर रहमान प्रमुख प्रतिपक्षी दल बीएनपी (बङ्गलादेश नेसनलिस्ट पार्टी) का संस्थापक तथा पूर्व प्रधानमन्त्री खालिदा जियाका पति थिए।
बंगलादेशमा स्वतन्त्रता कसले घोषणा गर्यो भन्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ। अवामी लिगले यसको श्रेय ‘बंगबंधु’ शेख मुजिबलाई दिने गरे पनि बीएनपीले जियाउर रहमानलाई वास्तविक नेतृत्वकर्ता बताउने गर्छ।
अगस्ट २०२४ मा भएको राजनीतिक विद्रोहपछि शेख मुजिबसँग सम्बन्धित प्रतीकहरूलाई हटाउने काम व्यापक रूपमा भएको हो। ढाकामा रहेको उनको प्रतिमा तोडफोड गरिएको थियो भने सार्वजनिक स्थानमा जडान गरिएका नाम प्लेटहरू पनि हटाइएका थिए।
नयाँ व्यवस्थाअनुसार शेख मुजिबसँग सम्बन्धित आठ वटा राष्ट्रिय बिदाहरू पनि रद्द गरिएको छ। शेख मुजिबुर रहमान बंगलादेशका प्रथम राष्ट्रपति थिए र सन् १९७५ मा आफ्नै निवासमा हत्या गरिएका थिए। उनका छोरी शेख हसिना विगत लामो समयदेखि बंगलादेशको प्रमुख नेता र प्रधानमन्त्रीको रूपमा कार्यरत रहिएकी थिइन्। - एभरेष्ट न्यूज एजेन्सी
प्रतिक्रिया