विराटनगर : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई आधुनिक प्रविधिको प्रयोगमार्फत आम्दानीको भरपर्दो स्रोत बनाउने सम्भावना औँल्याएका छन्।
शनिवार विराटनगरमा आयोजित हुलाक सेवा पुनः संरचना विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले इकमर्स प्रणालीमार्फत हुलाक सेवाको आम्दानी क्षमता उल्लेखनीय रूपमा बढाउन सकिने बताए।
“हुलाक सेवा मागी खाने सेवा होइन, यो आम्दानी कमाउने संस्था बन्नुपर्छ,” मन्त्री गुरुङले भने, “इकमर्सको माध्यमबाट हामीले सेवासमेत दिन सक्छौँ र आम्दानीसमेत गर्न सक्छौँ। अब प्रमाणित गर्नुपर्ने बेला आएको छ, हुलाक सेवा पनि दिगो र आत्मनिर्भर हुन सक्छ।”
मन्त्री गुरुङले सरकारी नीति, कानुन र निर्णयहरूमा आवश्यक सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउने दिशामा सरकारले कदम चाल्ने स्पष्ट सङ्केतसमेत दिए । उनले कार्यालय व्यवस्थापनदेखि जनशक्ति विकाससम्मका पक्षलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याउँदै, हुलाकमा प्रविधिमैत्री जनशक्ति आवश्यक रहेको र त्यसका लागि कर्मचारी सचेत र सक्षम बन्नुपर्ने बताए ।
मन्त्री गुरुङले नेपालको विकासको मार्ग अवरुद्ध हुनुको प्रमुख कारण व्यवस्थापनको कमजोरी भएको उल्लेख गरे। “हामीकहाँ योजनाहरू छन्, तर कार्यान्वयन र व्यवस्थापनमा समस्या छ,” उनले थपे, “त्यसैले अब सम्पूर्ण क्षेत्रको व्यवस्थापनमा ध्यान केन्द्रित गर्नु जरुरी छ।”
देशभर रहेका ६ सयभन्दा बढी हुलाक कार्यालयलाई प्रभावकारी बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको भन्दै उनले हुलाक सुधार अभियानलाई सबै प्रदेशमा विस्तार गर्ने योजना रहेको जानकारी दिए। कार्यक्रममा कोशी प्रदेशका हुलाक प्रतिनिधिहरूले आफ्ना क्षेत्रका समस्या प्रस्तुत गर्दै सेवा प्रवाहमा सुधारका लागि केन्द्र र प्रदेश दुवै तहको समन्वय आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा सञ्चार मन्त्रालयका उच्चपदस्थ कर्मचारी, हुलाक सेवा विभागका अधिकारी तथा सञ्चार क्षेत्रका विज्ञहरूको समेत उपस्थिति रहेको थियो।
प्रतिक्रिया