काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको बताएका छन् । आइतबार पनि प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सदन सधैं यसरी गैरजिम्मेवार हुनु भन्दा पनि जिम्मेवार हुनुपर्ने बताए ।
उनले भने, ‘सत्तापक्षले ठोस कुराहरु केही गर्न नसकेर पटक पटक संसद स्थगित हुँदै आइरहेको छ । तर अब केही सकारात्मक कुराहरु भएका छन् त्यसैले भोलि २ बजे संसद बैठक बस्नेछ र चल्ने छ भन्नेमा हामी पनि आशावादी छौं । सदन सधैं यस्तो भएर हुँदैन । जिम्मेवार हुनुपर्छ भनेर सभामुखसँग भनेका छौं ।’
यसैगरी नेकपा माओवादी केन्द्रको प्रमुख सचेतकमा हितराज पाण्डेले सदन चलाउन सत्तापक्ष र प्रतिपक्षबिच वार्ता भैइरहेको बताए । उनले भिजिट भिसा प्रकरणमा छानविन आयोग बनाउनुपर्ने बताए ।
उनले भने, ‘छलफल जारी नै छ । सहमति केहि भएको छैन । सत्तापक्ष र प्रतिपक्षबिच वार्ता भैइरहेको छ । सुशासनसँग केन्द्रित रहेर छानविन समिति बनाउनुपर्छ भन्नेमा हामी लागिरहेका छौँ । प्रतिपक्ष दलका नेता दिनमा पनि आएर समग्र समस्याको हल कसरि गर्ने भन्ने बारे राजनीतिक दलका नेतासँग कुरा भैइरहेको छ ।’
यसैगरी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सदन चलाउन समझदारीको नजिक पुगेको बताए । उनले १३ गतेदेखि अवरुद्ध भइरहेको छ यस्तो गर्न हुँदैन भनेर दिनभर विपक्षीदलसँग अपिल गरे पनि सहमती हुन नसकेको बताए ।
उनले भने, ‘हामि समझदारीको नजिक नजिक पुगेका छौं । १३ गतेदेखि अवरुद्ध भैरहेको छ यस्तो गर्न हुँदैन भनेर । दिनभर विपक्षीदलसँग अपिल गरेका थियौँ तर सहमती हुन सकेन । भोलि १२ बजे उनीहरुको बैठक हुने छ अनि सांसद बैठक भोलिबाट सुरु हुनेछ । भोलि गृहमन्त्रीले जवाफ दिनुहुनेछ । अख्तियार अनुसन्धान आयोगले गरेको छानबिन निष्कर्शमा पुगेको पनि छैन । त्यसैले त्यसबारे कुनै समिति बन्ने छैन । एउटा छलफलका माध्यमबाट सहमतिमा अगाडी बढ्नुपर्छ । हिजो संसद उनीहरुकै कारणले बन्द भयो र अब भोलि उनीहरुकै कारण खुल्ने छ ।’
भिजिट भिसाको विवादमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामा वा संसदीय छानबिन समितिमध्ये एक माग पुरा नभएसम्म संसद्को अवरोध हट्न नसक्ने अडान लिँदै आएका छन् ।
प्रतिक्रिया