सोलुखुम्बुमा १५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा, कर्मचारी अभावले सेवा प्रभावित

सोमबार, २६ जेठ २०८२

सोलुखुम्बु : सोलुखुम्बुको फाप्लुस्थित जिल्ला अस्पतालले १५ शय्याको संरचना रहे पनि हाल ५४ शय्यासम्मको सेवा दिइरहेको छ।

अस्पतालले दैनिक ५० भन्दा बढी बिरामी भर्ना गर्नुपर्ने अवस्था रहेको निमित्त प्रमुख डा. श्रेया पङ्गेनीले जानकारी दिए। प्रसूति, आकस्मिक, स्त्रीरोगजस्ता सेवा भौतिक पूर्वाधारबाट सम्भव भए पनि जनशक्ति अभावका कारण व्यवस्थापनमा कठिनाइ भइरहेको छ।

अस्पतालमा १८ जना स्थायी दरबन्दीमध्ये हाल केवल ५ जना मात्र कार्यरत छन्। बाँकी १३ पद रिक्त छन्, जसले सेवामा असन्तुलन ल्याएको छ।

एक जना डाक्टरले सबै सेवा सम्हाल्नु परेपछि कहिलेकाहीँ २४ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था आउने गरेको डा. पङ्गेनीको भनाइ छ।

स्टाफ नर्स दीप्ति चौधरीका अनुसार कर्मचारीले ८ घण्टाको सट्टा १२–१३ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था छ, जसले मानसिक र शारीरिक थकान अत्यधिक बनाएको छ।

हाल अस्पताल करारका ३२ जना कर्मचारी र ११ जना ज्यालादारी कर्मचारीको भरमा सञ्चालित छ। तर स्थायित्वको कमीले दीर्घकालीन योजना र सुधार कार्यक्रम कार्यान्वयन हुन नसकेको वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पाले बताए।

करारमा आएका चिकित्सक छोटो अवधिका लागि मात्र हुने भएकाले अस्पतालले बारम्बार जनशक्ति अभाव झेल्दै आएको छ।

जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले जनशक्ति, बजेट र स्तरोन्नतिको माग गर्दै पटक पटक प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेको जानकारी दिनुभयो। उहाँले हालै प्रदेश स्वास्थ्यमन्त्रीसँग भेटेर ३० शय्याको संरचना माग गरिएको बताए।

प्रदेश स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्ने तयारी भइरहेको बताएको छ। स्वास्थ्यमन्त्री भूपेन्द्र राईले हाल प्रदेशभर जनशक्ति अभाव रहेकाले समय लाग्ने स्पष्ट पारे।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार