सुनसरी : सुनसरी जिल्लामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा पछिल्लो समय उल्लेखनीय वृद्धि भएको छ । परिवार नियोजन सङ्घ धरान र इटहरीस्थित कार्यालयहरूबाट प्राप्त तथ्याङ्क अनुसार यस्तो बढोत्तरी देखिएको हो।
सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।
नेपालले २०५९ असोज १० गते मुलुकी ऐनको ११ औँ संशोधनद्वारा गर्भपतनलाई कानुनी मान्यता दिएको थियो ।
परिवार नियोजन सङ्घ सुनसरीकी प्रमुख रानु राउतका अनुसार आर्थिक वर्ष २०८१-८२ को दस महिनासम्म कुल १ हजार ६ सय ७२ महिलाले सुरक्षित तरिकाले गर्भपतन गराएका छन्।
यो सङ्ख्या अघिल्लो वर्ष २०८०-८१ को सोही अवधिमा १ हजार ५ सय १५ रहेको थियो। यसरी हेर्दा एक वर्षमै करिब १० प्रतिशतले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिन्छ।
विशेषगरी २० वर्षभन्दा माथिको उमेर समूहका महिलाहरू सुरक्षित गर्भपतनका लागि बढी आएका छन् भने किशोरीहरूको सहभागितासमेत देखिएको छ। १५ देखि १९ वर्ष उमेर समूहका ९३ जना किशोरीहरूले सुरक्षित गर्भपतनसम्बन्धी परामर्श लिएको र तीमध्ये ६३ जनाले सेवा लिएको सङ्घले जनाएको छ।
परिवार नियोजन सङ्घले १२ हप्तासम्मको गर्भवती महिलालाई उनको स्वेच्छाले सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको छ। सङ्घले महिला स्वास्थ्य अधिकार, परिवार नियोजनको जानकारी र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्शमार्फत महिलाहरूलाई सुरक्षित विकल्पहरू उपलब्ध गराउँदै आएको छ। कानूनमा गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सक्ने उल्लेख छ ।
त्यस्तै गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकले राय दिएमा,जबरजस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ,रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेको महिलाको गर्भ,गर्भमै भ्रूण नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको उपचारमा सङ्लग्न चिकित्सकको रायबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ ।
महिलाहरूको स्वास्थ्यप्रति बढ्दो चेतना, किशोर किशोरीमैत्री सेवा विस्तार, यौन शिक्षा र पहुँचमा सहजता हुनु सुरक्षित गर्भपतन सेवामा वृद्धिको प्रमुख कारण हुनसक्छ। तथापि, किशोरीहरूको सहभागिता चिन्ताको विषय पनि भएको र यौन शिक्षा र चेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
यसैबिच रोगको पहिचान र रोकथामका लागि परिवार नियोजन सङ्घले ‘थर्मोकोएगुलेशन सेवा’ सुरु गरेको छ। यस सेवा अन्तर्गत हालसम्म ३०० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण भइसकेको प्रमुख राउतले जानकारी दिइन्। विशेषगरी ग्रामीण भेगमा घुम्ती शिविरमार्फत सञ्चालन गरिँदै आएको यो सेवाबाट दुर्गम क्षेत्रका महिलाहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।
थर्मोकोअगुलेशन प्रविधि शरीरमा तापक्रमको विश्लेषणका आधारमा रोग पहिचान गर्ने नयाँ विधि हो। यसले विशेषगरी पाठेघर, स्तन र अन्य महिला स्वास्थ्यसम्बन्धी समस्याहरू प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्ने विश्वास गरिएको छ।
‘थर्मोकोएगुलेशन सेवा’ विशेष किसिमको सेवा वा प्रविधिलाई जनाउँछ जसमा "थर्मो" (गर्मी) 'को' (कोएगुलेशन अर्थात् जमाउने प्रक्रिया) शब्दहरू छन्। यसलाई नेपालीमा 'ताप जमावट सेवा' वा 'ताप प्रविधिबाट उपचार सेवा' भनेर बुझ्न सकिन्छ।
यसैक्रममा, इटहरी र धरान उपमहानगरपालिकामा सञ्चालन भइरहेका परिवार नियोजन क्लिनिकहरूमा किशोरी लक्षित यौन शिक्षा तथा गोपनियतासम्बन्धी परामर्श सेवा पनि सुरु गरिएको छ।
प्रमुख राउतका अनुसार, विद्यालय तहमा यौन शिक्षाको पहुँच पुर्याउने उद्देश्यले क्लिनिकलाई सूचीकृत गराई शिक्षण संस्थासँग समन्वयमा कार्यक्रम अघि बढाइएको हो।
स्वास्थ्यकर्मीहरूका अनुसार, किशोरी र महिलामा नियमित स्वास्थ्य परीक्षणको अभाव र यौन शिक्षा नहुँदा पाठेघरको मुखको क्यान्सर, यौन सङ्क्रमित रोगजस्ता समस्या देखिने गरेका छन्। यस्तो अवस्थामा संघसंस्थासँग सहकार्य गर्दै यस्ता सेवा विस्तार गर्नु समयको माग भएको उनीहरू बताउँछन्।
स्वास्थ्य सचेतना अभिवृद्धि र सेवाको पहुँच वृद्धि गर्दै लैजाने उद्देश्यले सुरु गरिएका यी कार्यक्रमहरू ग्रामीण तथा शहरी दुवै क्षेत्रमा महिला र किशोरीहरूको स्वास्थ्य सुरक्षामा योगदान पुगाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया