इलाम : इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले कृषिजन्य वस्तुहरू अर्ग्यानिक भए मात्र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिनेमा जोड दिएका छन्। इलाम नगरपालिका–४ स्थित माई टी स्टेटको चिया प्रशोधन केन्द्रमा भएको कार्यक्रममा अर्ग्यानिक खेती व्यवस्थापनबारे गहन छलफल गरिएको हो।
माई टी जैविक चिया कृषक समूह इलामको आयोजनामा भएको कार्यक्रममा सहभागी किसानहरूले उत्पादनको बजार अभाव, उचित मूल्य नपाइने, र पहुँचवाला व्यक्तिलाई मात्रै अनुदान जाने जस्ता समस्याहरू खुलस्त रुपमा राखेका थिए।
कार्यक्रममा सहभागी रामचन्द्र नेपालले पशु तथा कृषि उत्पादनको उचित मूल्य नपाइने गुनासो गर्दै दीर्घकालीन समाधानको लागि सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने बताए। सन्दकपुर गाउँपालिकाका प्रवक्ता रहरकुमार राईले पहुँचवाला किसानहरूले मात्र सरकारी अनुदान पाउने गरेको जनाउँदै असली किसानहरू समस्यामा परिरहेको बताए।
इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले अबको कृषि प्रणालीलाई अर्ग्यानिकतर्फ मोड्न आवश्यक रहेको बताए।
'अहिलेको युगमा विदेशी उपभोक्ता विषादीरहित उत्पादनतर्फ आकर्षित छन्,' उनले भने।
सन्दकपुर गाउँपालिकाका उपप्रमुख हरीकुमार लुंगेलीले वातावरण र स्वास्थ्यको दृष्टिकोणले अर्ग्यानिक खेती अपरिहार्य भएको उल्लेख गर्दै यस सम्बन्धी नीति निर्माणमा गाउँपालिका जुट्ने जानकारी दिए।
गाउँपालिकाका प्रमुख तुलाराम गुरुङले इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको सहकार्यमा अर्ग्यानिक खेती प्रवर्द्धनका कार्यक्रम ल्याइने घोषणा गरे। “किसानको भविष्य सुरक्षित गर्न अर्ग्यानिक खेतीमै जोड दिनुपर्छ,” गुरुङले बताए।
कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाका मेयर केदार थापाले किसानहरूको सशक्तिकरणका लागि नगरपालिकाले छुट्टै नयाँ कार्यक्रम ल्याएको जानकारी दिए। उनले अर्ग्यानिक खेतीलाई प्राथमिकता दिँदै किसानलाई आवश्यक तालिम र प्रविधिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम माई टी जैविक चिया कृषक समूहका अध्यक्ष विनोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा इलाम र सन्दकपुर क्षेत्रका सयभन्दा बढी अग्रज किसान तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।
प्रतिक्रिया