विराटनगरको बाल सुधारगृहमा झडप : अवस्था नियन्त्रणमा, तोडफोडबाट क्षति

बुधबार, २८ साउन २०८२

विराटनगर । दोहोरो झडपपछि अवस्था असामान्य बनेको विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृह अहिले सुरक्षा नियन्त्रणमा आएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार बुधबार दिउँसो करिब १२स्४५ बजे कानुनी विवादमा थुनामा रहेका बाल बिज्याइँकर्ताबीच विवाद भई झडप सुरु भएको थियो । झडप रोक्ने क्रममा सुधारगृहको सुरक्षामा खटिएका नेपाल प्रहरीका असई शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भए । चौधरीलाई सामान्य चोट लागेको छ भने टाउकोमा चोट लागेका मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको छ।

झडप सुरु भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी हस्तबहादुर सुनार नेतृत्वको टोलीसहित वडा प्रहरी कार्यालय विराटनगर र अन्य युनिटबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले सुधारगृहलाई घेरा हालेर नियन्त्रणमा लिएका थिए ।

Untitled design (8)_11zon

एसपी चिमरियाका अनुसार झडपको बीचमा करिब १२०–१३० जना बाल बिज्याइँकर्ताले मुख्य गेट तोडेर बाहिर निस्कने प्रयास गरेका थिए । तर, प्रहरीको सतर्कताका कारण सबैलाई पुनः सुधारगृहभित्रै फर्काइयो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि भाग्ने मौका कसैले नपाएको र अहिले सुधारगृह पूर्णरूपले सुरक्षा नियन्त्रणमा रहेको बताए ।

सुधारगृहको क्षमता ५० जनाको भए पनि हाल यहाँ २ सय ४९ जना राखिएका छन् । विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बालबालिकालाई अदालतको आदेशअनुसार सुधारगृहमा राखिने भए पनि वैकल्पिक व्यवस्थाको अभावमा १८ वर्ष पार गरेका थुनुवा पनि त्यहाँ छन् । यही भीडभाड र मिश्रित बसोबासका कारण बेला–बेला विवाद र झडप हुने गरेको अधिकारीहरूको भनाइ छ ।

बुधबारको घटनामा बाल बिज्याइँकर्ताले सुधारगृहको मेष भवन, सुरक्षा ब्यारेक, कार्यालय कोठा, झ्यालका सिसा र कुर्सीहरू तोडफोड गरेका छन् । क्षतिको मूल्यांकन भइरहेको प्रहरीले जनाएको छ । 

घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ । बाल बिज्याइँकर्ताबीच के कारण र के विवादले झडप भएको हो भनेर यकिन छैन । तर, प्रजिअ यादव, एसपी चिमरियासहितका सुरक्षा अधिकारी पुगेर त्यहाँको अवस्था सामान्य बनाउन भूमिका खेलेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार