अहमदाबाद, भारत : प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रवार एयर इन्डियाको भयानक विमान दुर्घटना स्थल अहमदाबाद पुगेका छन्।
दुर्घटनामा परेका एकमात्र जीवित यात्रु रमेश विश्वास कुमारलाई सिभिल अस्पतालमा भेटेर प्रधानमन्त्री मोदीले करिब १० मिनेटसम्म कुराकानी गरेका छन्।
ब्रिटेनका नागरिक भए पनि भारतीय मूलका रमेश कुमार उक्त विमानमा २४२ यात्रुहरूसँगै यात्रा गरिरहेका थिए। दुर्घटनाको घडी सम्झिँदै उनले भने, “म कसरी जीवित बाहिर निस्किएँ भन्ने कुरामा मलाई विश्वासै लाग्दैन।
सायद ढोका फुटेर सिटसँगै खसेको हुनुपर्छ। मलाई केही याद छैन।”
दुर्घटनाको बेला विमानको सिट नम्बर ११ए मा रहेका कुमार आफैँ दुर्घटना स्थलबाट बाहिर निस्किएको बताइन्छ।
अस्पतालमा भर्ना भई उपचाररत कुमारले डीडी न्युजसँग कुरा गर्दै प्रधानमन्त्री मोदीले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो देखाएको र दुर्घटनाबारे जानकारी लिएको बताए।
प्रधानमन्त्री मोदीले अस्पताल भ्रमणपछि अहमदाबाद विमानस्थल पुगेर त्यहाँका वरिष्ठ अधिकारीहरूसँग दुर्घटनाको कारण, उद्धार कार्य र भावी सुरक्षा रणनीतिबारे समेत छलफल गरेका थिए।
विमानमा रहेका अन्य २४१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। घटनाले भारतीय हवाई सुरक्षा प्रणालीमा गम्भीर प्रश्न उठाएको छ।
प्रतिक्रिया