काठमाडौँ: नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली काँग्रेसले जेन-जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ६ (क) को तेस्रो प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा शिवाकोटीले जेन्जी पुस्ता सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र नवप्रविधिमा बढी क्रियाशील रहेकाले तिनलाई समेट्ने छुट्टै नीति, संवाद र संलग्नता अभियान आवश्यक भएको बताए। साथै, उनले अल्फा जेनेरेसनका लागि पनि दीर्घकालीन दृष्टिका साथ शैक्षिक, सन्देशमूलक र नेतृत्व विकास कार्यक्रमहरू तय गर्नुपर्ने बताए।
सम्मेलनको प्रशिक्षण कार्यक्रममा "प्रभावकारी पार्टी सञ्चार र सामाजिक सञ्जालको सदुपयोग" विषयमा प्रशिक्षण दिएका थिए। शिवाकोटीले फेक न्युज र गलत सूचनाको पहिचान गर्न सक्ने क्षमतायुक्त कार्यकर्ताहरूको पङ्क्ति निर्माण गर्नु आजको आवश्यकता भएको बताउँदै, यस्ता सूचनाको वैज्ञानिक, संयमित र तथ्यमा आधारित खण्डन गर्नुपर्नेमा जोड दिए।
शिवाकोटीले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग मार्फत पार्टीको नीतिहरू जनमानसमा प्रभावकारी रूपमा पुर्याउन सकिने धारणा राख्दै कार्यकर्ताहरूलाई सचेत, रचनात्मक र सत्यनिष्ठ हुन आग्रह गर्नुभयो। उनले भने, "अबको प्रतिस्पर्धा केवल सडकमा मात्र होइन, स्क्रिन र सोचमा पनि हो। हामीले तथ्य र विश्वासका माध्यमबाट जनताको मन जित्नुपर्छ।"
कार्यक्रममा नेपाली कांग्रेस नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य प्रताप पौडेलले पनि प्रशिक्षण दिएका थिए। उनले पार्टीको कार्यगत समन्वय, नीतिगत प्रभावकारिता र राजनीतिक जबाफदेहिताबारे विस्तृत धारणा राखेका थिए।
सम्मेलन सङ्गठन सुदृढीकरण, कार्यकर्ता प्रशिक्षण, नयाँ पुस्तासँगको संवाद, र स्थानीय तहमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने विषयमा गम्भीर छलफल गरेको नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं. ६ (क) का सभापति खाम तिवारीले जानकारी दिए।
प्रतिक्रिया