राप्रपाले पनि बजेटमाथिको छलफलमा भाग लिने, एक्लियो रास्वपा

आइतबार, ०१ असार २०८२
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले आफूहरुले बजेटमाथिको छलफलमा भाग लिने बताएका छन् ।र्दैउनले निर्धारित समयमा बजेट पारित गर्नुपर्ने भएकाले बजेटमाथिको छलफलमा भाग लिने बताएका छन् ।

‘हामी बजेटको छलफलमा भाग लिन्छौं । अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट समयमा पारित गर्नुपर्ने पनि हुन्छ । जनसरोकारको विषयमा चाहिँ सत्ता पक्षले जुन प्रकारको व्यवहार गरेको छ, त्यो राम्रो कुरा भएन,’– नेता प्रधानले भने ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको मुछिएको भन्दै प्रतिपक्षी दलहरुले लामो समयदेखि संसद् अवरोध गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले भने दुई बुँदे सहमति गर्दै सदन सुचारु गर्न सघाएको छ । यता राप्रपाले पनि बजेटमाथिको छलफलमा भाग लिने भएपछि अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदनमा एक्लिएको छ ।

नेता प्रधानले भिजिट भिसा प्रकरणमा अध्यागमनको कर्मचारी एक्लैले आँट गरेर यति ठूलो रकम हिनामिना गर्न नसक्ने दाबी गरे । उक्त प्रकरणमा न्यायिक छानविन समिति आफूहरुको माग रहेको पनि उनले सुनाए । अहिले छानविन भएको खण्डमा भविष्यमा यस्ता घटनाहरुमा कमी आउने उनको भनाइ छ । साथै, सभामुख देवराज घिमिरेले विभेदकारी कार्यहरु गरिरहेको उनको आरोप छ ।

‘अहिलेका सभामुखले विभेदकारी कार्यहरु गरिराखेको हामीले अनुभव गरिराखेका छौं । उहाँले सदनको गरिमा बचाउन सक्नुभएको छैन । निष्पक्षता निर्वाह गर्न सक्नुभएको छैन । तर, सदनलाई बन्धक बनाउने स्थितिमा हामी छैनौं,’– उनले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार