इटहरी : ‘छिटो पहिचान, जीवन रक्षा’ र ‘जीवन बचाऊ, रक्तदान गर’ भन्ने नाराका साथ इटहरीमा पाठेघर मुख (सर्भाइकल) क्यान्सरबारे सचेतना, निःशुल्क सुगर परीक्षण र रक्तदाता विवरण संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
लियो क्लब अफ इटहरी सिटीको आयोजनामा इटहरीको विश्व आदर्श कलेजमा सम्पन्न उक्त कार्यक्रममा लियो अमर दीप पौडेलको अध्यक्षता थियो। कार्यक्रममा दुई सयभन्दा बढी सहभागीको उपस्थिति रहेको आयोजकले जनाएको छ।
महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा पाठेघर मुख क्यान्सरसम्बन्धी जानकारी, सावधानी र प्रारम्भिक परीक्षणबारे जानकारी दिइएको थियो।
साथै सहभागीहरूलाई निःशुल्क रक्तचिनी परीक्षण सेवा पनि उपलब्ध गराइएको थियो। यस्तै, रक्त सर्भे अन्तर्गत रक्तदाताहरूको विवरण संकलन गरी आपत्कालीन अवस्थामा रक्त अभाव समाधानमा सहयोग पुर्याउने लक्ष्य लिइएको थियो।
कार्यक्रममा इटहरी मेडिकलको प्राविधिक सहयोग रहेको थियो भने सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको समन्वय र समृद्ध युवा समाज नेपालको सहकार्य प्राप्त भएको थियो। लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५सी र लियो जिल्ला परिषद् ३२५सी, नेपाल यस कार्यक्रमका संरक्षक संस्था रहेका थिए।
कार्यक्रमको अन्त्यतिर सहभागीहरूका लागि प्रश्नोत्तर प्रतियोगिता, बास्केटबल खेल लगायत मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो। साथै, इटहरी मेडिकलबाट सहभागीहरूलाई एकपटकको छुटसहितको स्वास्थ्य सेवा कार्ड पनि प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
प्रतिक्रिया