धरान : धरान उपमहानगरपालिकामा बजेट छलफल जारी रहँदा उत्पन्न विवादले कार्यपालिका भित्रको शक्ति सन्तुलनमै प्रश्न उठाएको छ । सोमबार(आज) उपमेयर आइन्द्र विक्रम बेघामाथि मेयर हर्क साम्पाङ पक्षधर श्रमदाताहरूले नगरपालिका कार्यालयमै सामूहिक घेराउ गरेपछि परिस्थिति झन् तनावपूर्ण बनेको हो ।
मेयर साम्पाङले श्रमदानमार्फत निर्माण गरिएका संरचनामा प्रयोग भएका फलामका जालीहरूको अनुगमन र निरीक्षण गरी भुक्तानी प्रक्रिया अघि बढाउन उपमेयर बेघालाई निर्देशन दिए । तर उपमेयरले ती कार्यहरू नगरको औपचारिक प्रक्रिया नअपनाई गरिएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरे ।
‘श्रमदान भन्दै जुन किसिमको काम गरियो त्यसको स्रोत स्पष्ट छैन । बजेटबाट हो कि बाह्य सहयोगबाट, थाहा छैन । पारदर्शिता नभएको अवस्थामा म जिम्मेवारी लिन सक्दिन ।’ उपमेयर बेघाले भने ।
उपमेयरले हस्ताक्षर गर्न नमानेपछि मेयर साम्पाङले उपमेयरलाई आफ्नो कार्यकक्षमा बोलाए र त्यसपछि आफ्ना श्रमदाताहरूलाई पनि बोलाई कार्यकक्ष बाहिरै उपमेयरलाई घेराउ गराएका हुन् । खास गरी श्रमदानको नाममा ‘एकल निर्णय’ र ‘अपारदर्शी अभ्यास’ भइरहेको भन्दै धरानमा मेयरको विरोध भइरहेको छ ।
हर्क साम्पाङ द्वारा अघि सारिएको श्रमदान मोडेल जनस्तरमा लोकप्रिय भए पनि पछिल्लो समयमा त्यसमा पारदर्शिताको गम्भीर प्रश्न उठिरहेका छन् । श्रमदानको नाममा सार्वजनिक खर्चलाई गोप्य रूपमा प्रयोग गरिएको आरोप कतिपयको छ ।
उपमेयर पक्षधरहरू भन्छन्, ‘जनप्रतिनिधिमाथि श्रमदाताको नाममा भीड उतारेर दबाब सिर्जना गर्नु आफैँमा अपारदर्शी र असंवैधानिक अभ्यास हो । संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै जनदबाबमार्फत निर्णय गराउने शैलीले कार्यपालिकाभित्रको सन्तुलन नै खलबल्याउन सक्छ ।’
उता, मेयर साम्पाङ पक्षले भने श्रमदाताहरूको योगदानको सम्मान नगरेको आरोप उपमेयरमाथि लगाएका छन् ।
प्रतिक्रिया