काठमाडौं : मध्यपूर्वमा दुई छिमेकी इजरायल र इरानबीचको द्वन्द्व चर्किदै गएपछि जुन सुकैबेला जेपनि पनि हुन सक्ने सम्भावना बढेको छ । दुबै देश युद्धबाट पछि नहटने र युद्धविरामको कुनै सम्भावना नदेखिएको कारण जारी युद्ध अझ सशक्त र भीषण हुन सक्ने जनाइएको छ ।
इजरायलले इरानका परमाणु कार्यक्रम स्थलहरूमा सीधा हमला गरेपछि राजधानी तेहरानमा विस्फोटहरू भइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध दीर्घकालीन हुनसक्ने चेतावनी दिएका छन् भने इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीले इजरायलले आफ्नै निम्ति दुर्भाग्य निम्त्याएको भनाइले यो द्वन्द्व गहिरो र दीर्घकालीन हुनसक्ने सम्भावना बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका स्थानीय नागरिकलाई राजधानी तेहरान छाडेर जान आह्वान गरेपछि युद्धको जोखिम बढ्दै गएको देखिन्छ । आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रेषित गर्दै ट्रम्पले सबैलाई इरानको राजधानी तेहरान छाडेर जान आह्वान गरेका हुन् ।
इरानले इजरायलको तेलअभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ । धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन् । तर धेरैले अन्य कुनै पनि ठाउँ सही नभएको बताएका छन् ।
यस्तै, ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई पनि आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता खोमिनीलाई बिना शर्त आत्मसमर्पण गर्नु सबैभन्दा उपयुक्त भएको सुझाव दिएका हुन् ।
यी सबैको पृष्ठभूमिमा इजरायल र इरानबीचको युद्ध लम्बिने सम्भावना देखिएको हो । युद्धको भूराजनीतिक असर विश्व भर परेको छ भने यसबाट संसारभरका नागरिक पनि प्रभवित हुन थालेका छन् ।
अमेरिकी ट्रम्पले इरानसँगको द्वन्द्वमा फोर्दो क्षेत्रमा रहेको इरानी आणविक प्रशोधन केन्द्रमा बम बिष्फोट गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका हुन् । अमेरिकाको सबैभन्दा ठूलो ‘बंकर बस्टर’ बम अमेरिकी बी–२ बमवर्षकहरू प्रयोग गरेर म्यासिभ अर्डनेन्स पेनिट्रेटरको प्रयोग गरेर मात्र इरानको सो भूमिगत स्थलमा पुग्न सकिन्छ ।
यदि उनले अगाडि बढ्ने निर्णय गरे भने संयुक्त राज्य अमेरिका मध्यपूर्वमा नयाँ द्वन्द्वमा प्रत्यक्ष सहभागी बन्नेछ ।
दुई देशबीच युद्ध चर्किदा विभिन्न देशले आफ्ना नागकिरलाई इजरायल र इरानबाट फिर्ता बोलाउन थालेका छन् । भारत, चीनसहित य्ुद्धग्रस्त देशबाट आफ्ना नागरिकलाई फिर्ता बोलाउन लागेका हुन् ।
नेपालीलाई उद्धार गरिने
इरान र इजरायलबीच देखा परेको प्रत्यक्ष द्वन्द्वले घातक स्वरूप लिइरहँदा नेपाली श्रमिकहरू रहेको इजरालमा उनीहरूको सुरक्षा चिन्ता बढेको छ ।
शुक्रवारदेखि सुरु भएको पछिल्लो द्वन्द्व थप चर्कने घटनाक्रम देखा परिरहँदा इजरायलबाट उनीहरूको उद्धार गर्नुपर्ने कुरा उठ्न थालेका छन् ।
इजरायल र इरानको जारी द्वन्द्वका कारण इजरायलमा रहेका नेपालीहरूको उद्धारको पहल सुरु भएको छ ।
इजरायलमा रहेको नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि विवरण संकलन सुरु गरेर उद्धारको पहल थालेको हो । इजरायलको तेलअविभस्थित नेपाली दूतावासले सूचना निकाल्दै नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गर्दै सूचना निकालेको छ ।
‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बिच समस्या र त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ’, दूतावासले बुधबार सूचना जारी गरी भनेको छ । यस्तै सहभागी हुन इच्छुकले अनलाइन दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।
नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने परिस्थितिका लागि दूतावास तयारी अवस्थामा रहेको इजरायलस्थित राजदूत धन प्रसाद पण्डितले बताए । ‘पानीजहाजमार्फत साइप्रस पु¥याएर हुन्छ वा स्थल नाकामार्फत् जोर्डन पु¥याएर हुन्छ, हामी त्यसको विकल्प हेरिरहेका छौँ’, राजदूत पण्डितले भने ।
भयभित नेपाली
इजरायलको तेल अभिभसहित कैयौँ शहरमा इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारपछि इरायलमा रहेका हजारौं नेपाली आफूहरू निकै भयभीत भएको बताएका छन् । उनीहरू अवस्था अझै बिग्रने चिन्ताले सताएको जनाएका छन् ।
इजरायलस्थित नेपालीहरूले पछिल्लो तनाव यसअघिका युद्धमा समेत नदेखिएको निकै गम्भीर रहेको र विमानस्थल खुल्दाको अवस्थामा नेपाल फर्कने अवस्थामा रहेको बताएका छन् ।
इजरायलमा आपत्काल घोषणा गरिएको पछिल्लो अवस्थामा त्यहाँ दिनहूँ क्षेप्यास्त्र हमला भइरहँदा बारम्बार भूमिगत बंकरमा लुक्नुपर्ने अवस्था रहेको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् ।
मध्यान्हको सम्पर्कमा आएका इजरायलमा कार्यरत नेपालीले अहिलेसम्म आफूहरू सु्रक्षित भएपनि कति बेला के हुने चिन्ता लागेको बताएका छन् ।
इजयारलमा अधिकांश नेपाली केअरगिभरको काम गर्छन । केही नेपाली अन्य क्षेत्रमा काम गर्छन् । इजरायलमा ५ हजार भन्दा बढी संयामा नेपालीहरू कार्यरत छन् ।
इजरायलस्थित नेपाली दूतावासले त्यहाँका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशनहरू पालन गर्न र आपत्कालीन अवस्थामा सहयोगका लागि दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
इजरायलमा सबैभन्दा राम्रो भनेको कुनै पनि खतराको संकेत हुनेबित्तिकै मोबाइलमा त्यसको सन्देश आउँछ र अर्लाम बज्छ । साइरन पनि बज्छ र बंकर भित्र छिर्नुपर्छ । इजरायलका अधिकांश शहरमा सामुदायिक बंकरको सुविधा पनि छ ।
बंकरमा लुकेपछि ज्यानको डर लागेको इजरायलमा कार्यरत ललितपुरका मातृका तिमल्सिनाले बताउँछन् । ‘म यहाँ आएको झन्डै २० वर्ष भयो । मैले हालसम्म यस्तो अवस्थाको अनुभव गरेको थिइनँ’, उनले भने ।
इजरायलबाट तत्काल नेपाल फर्कने अवस्था छैन किनभने सबै विमानस्थलहरू बन्द छ । अहिले तत्काल फर्कन चाहनेहरू पनि फर्कन सक्ने अवस्था छैन ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र श्रम स्वीकृति लिएर एकहजार ४५ जना नेपाली इजरायल गएका छन् ।
२०८१ साउनमा ३९, भदौमा ३२, असोजमा ३९, कात्तिकमा ११२, मंसिरमा ९१, पुसमा ४७, माघमा ४६, फागुनमा २४०, चैतमा २५३ र २०८२ वैशाखमा १४६ जना नेपाली केयर गिभरको रुपमा इजरायल पुगेका छन् ।
विभागका अनुसार २०७८ साउन १ गतदेखि २०८२ वैशाख मसान्तसम्मको अवधिमा ३ हजार ७३२ जना नेपाली केयर गिभरको रुपमा इजरायल गएको विभागको तथ्यांकले देखाउँछ ।
आर्थिक वषै २०७८/७९ मा ५९८ जना, २०७९/८० मा १ हजार ८४ जना, २०८०/८१ मा एक हजार पाँचजना र २०८१/८२ को पहिलो १० महिनामा एक हजार ४५ जना नेपाली केयर गिभरको रुपमा काम गर्न इजरायल गएका थिए ।
सबै नेपाली सुरक्षित
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले हालसम्म त्यहाँ रहेका सबै नेपालीहरू सुरक्षित भएको बताए । ‘अहिलेसम्म सबै नेपालीहरू सुरक्षित छौँ र यदि उनीहरू असुरक्षित हुने अवस्था आयो र यहाँबाट उद्धार गर्नुपर्ने अवस्था आयो भने हामी तयार छौँ’, उनले भने ।
उनले इजरायली निकायहरूसँग पनि आफूहरू निरन्तर सम्पर्कमा रहेको र नेपालीहरूलाई सुरक्षाका लागि दिइएका निर्देशनहरू पालन गर्न आग्रह गरिएको बताए ।
राजदूत पण्डितले भने, ‘अहिले आत्तिनु पर्ने अवस्था छैन र दूतावासले नेपालीलाई असुरक्षित महसुस गरेमा आवश्यक सहयोग पनि गर्नेछ । त्यसका लागि सम्पर्क गर्न हामीले भनेका छौँ र काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा पनि हामी निरन्तर सम्पर्क र समन्वयमा छौँ ।’
यसअघि सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो भने हमासले बन्धक बनाएका भनिएका विपिन जोशीको अवस्था हालसम्म अज्ञात छ । ती विद्यार्थीहरू काम गर्दै सिक्ने योजनाअन्तर्गत इजरायल गएका थिए ।
अन्य देशमा पनि जोखिम
हाल अन्य देशहरू पनि यस युद्धमा जोडिइ नसकेकाले मध्यपूर्वका अन्य देशमा पनि अवस्था गम्भीर बन्दै गएको छ । इरानमा करिब एक दर्जनको संख्यामा नेपालीहरू छन् । त्यसबाहेक लेबनन, जोर्डन, इराक र सिरिया दुई देशबीचको द्वन्द्वको प्रत्यक्ष मारमा पर्न सक्ने देशका रूपमा हेरिन्छन् । जहाँ औपचारिक र अनौपचारिक तवरबाट गएका नेपालीहरू रहेका पाइन्छन् ।
यीमध्ये जोर्डनमा झण्डै ३ हजार र लेबननमा झण्डै ८ यि जना शान्ति सैनिकबाहेक ११ सय जना जति नेपाली श्रमिकहरू रहेको ठानिन्छ ।
इराक र सिरियाजस्ता देशमा श्रमिक जान बन्देज छ । सबैभन्दा धेरै नेपाली भएको देश यूएई हो जुन यसमा तटस्थ देखिएको छ ।
तर इरानले ‘स्ट्रेट अफ हर्मुज’ भनिने खाडी क्षेत्रको जल क्षेत्र बन्द गर्ने चेतावनी दिइरहँदा त्यससँग जोडिएको ओमानमा समेत पर्न सक्ने सम्भावना छ । ओमानमा झण्डै २० हजार नेपालीहरू कार्यरत छन् ।
आजको मध्यान्न दैनिका प्रकाशित छ ।
प्रतिक्रिया