धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तारको अभूतपूर्व पहल गर्दै एकै पटक उपचार, प्रविधि र विद्यार्थी कल्याणका विविध पक्ष समेटिएका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ।
क्यान्सरका गम्भीर बिरामीलाई लक्षित गर्दै प्रतिष्ठानले काठमाडौँ बाहिर पहिलो पटक ‘घरमै उपचार सेवा’ सुरु गरेको हो भने, डिजिटल पहुँच सजिलो बनाउन मोबाइल एप अद्यावधिक गर्दै ओपिडी टिकट दर्तादेखि ल्याब रिपोर्ट हेर्ने सुविधा उपलब्ध गराइएको छ। साथै, विद्यार्थीहरूको समग्र स्वास्थ्य प्रवर्द्धनका लागि विशेष इकाईसमेत स्थापना गरिएको छ।
‘घरमै उपचार सेवा’ सुरु गरिएको जानकारी दिँदै प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजीत कुमारले भने,“गम्भीर अवस्थामा अस्पताल आउन नसक्ने बिरामीलाई लक्षित गर्दै प्रशिक्षित चिकित्सक र नर्सको टोली घरमै गएर सेवा दिन तयार छ।”
धरान उपमहानगर क्षेत्रभित्रका लागि सुरु गरिएको यो सेवाको शुल्क एक हजार पाँच रुपैयाँ तोकिएको छ भने, विपन्न बिरामीका लागि निःशुल्क व्यवस्था छ।
यता, मोबाइल एपमार्फत बिरामीले घरमै बसेर सामान्य ओपिडी टिकट दर्ता गर्न, चिकित्सकको टोकन नम्बर,भुक्तानी विवरण हेर्न र ल्याब रिपोर्ट डाउनलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ। डिजिटल सेवाको यो विस्तारले अस्पतालमा लाइन बस्ने झन्झट घटाउने र समयको सदुपयोग गर्ने अपेक्षा गरिएको छ।
प्रतिष्ठानले विद्यार्थीहरूको समग्र स्वास्थ्यप्रति पनि ध्यान केन्द्रित गर्दै ‘विद्यार्थी स्वास्थ्य प्रवर्द्धन इकाई’ गठन गरेको छ। उपकुलपति डा. सञ्जीव कुमार शर्माको नेतृत्वमा स्थापना गरिएको इकाईले विद्यार्थीहरूलाई शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन, पोषण व्यवस्थापन र तनाव न्यूनीकरणका क्षेत्रमा सघाउनेछ। यस अन्तर्गत व्यायामशाला, खेलकुद, योगा कक्षा, साइकल भाडामा सेवा, मानसिक परामर्श, हेल्पलाइन तथा व्यक्तिगत ‘मेन्टर (प्रिसेप्टर)’ प्रणाली पुनः सञ्चालनमा ल्याइएको छ।
साथै, स्नातक तहका विद्यार्थीको दक्षता वृद्धिका लागि ‘क्यान्सर जनचेतना क्लब’ र ‘अनुसन्धान क्लब’ समेत स्थापना गरिएको छ। यी क्लबमार्फत क्यान्सरबारे जनचेतना फैलाउने, सामुदायिक सञ्जाल विस्तार गर्ने र विद्यार्थीलाई अनुसन्धानमुखी बनाउने वातावरण सिर्जना गरिने बताइएको छ।
संस्थागत रूपमा बिरामी, प्रविधि र विद्यार्थी हितलाई जोड दिँदै सुरु गरिएका यी कार्यक्रमहरूले स्वास्थ्य सेवामा नवीन अभ्यासको थालनी मात्र होइन, भावनात्मक हेरचाह र समर्पित शिक्षण वातावरण निर्माणमा समेत बीपी प्रतिष्ठानलाई अग्रणी बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया