जुकरबर्ग र बेजोसलाई पछि पार्दै एलिसन बने दोस्रो धनी व्यक्ति

आइतबार, ०८ असार २०८२

काठमाडौँ । विश्वका धनीहरूको सूचीमा ठूलो परिवर्तन आएको छ । ओरेकलका सह-संस्थापक ल्यारी एलिसनले जेफ बेजोस र मार्क जुकरबर्गलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् ।

उनको कम्पनीको शेयरमा तीव्र वृद्धि भएपछि उनी विश्वको धनीको सुचीमा दोस्रो स्थानमा आएका हुन् । यसले उनको सम्पत्तिमा ४० मिलियन डलरले वृद्धि भएको छ । फोर्ब्सको रिपोर्ट अनुसार, ल्यारी एलिसनको सम्पत्ति हाल २४७ .९ अर्ब डलर पुगेको छ । उनी अब टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्कभन्दा मात्र पछि छन् । मस्कको सम्पत्ति ४०९ अर्ब डलर छ ।

यो परिवर्तन ओरेकलको क्लाउड कम्प्युटिङ व्यवसायको सफलताका कारण आएको हो । ओरेकलको राम्रो नतिजाका कारण कम्पनीको शेयर तीव्र गतिमा बढेको छ । एलिसनको कम्पनीको लगभग ४१ प्रतिशत शेयर छ । यसले एकै दिनमा उनको सम्पत्तिमा २५ अर्ब डलरले वृद्धि भएको थियो । त्यसको लगत्तै, उनको सम्पत्तिमा १६ अर्ब डलरले वृद्धि भयो । अर्कोतर्फ, मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति २३५.६ अर्ब डलर छ भने अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति २२४.६ अर्ब डलर रहेको छ ।

ल्यारी एलिसन ८० वर्षका छन् । उनले १९७७ मा ओरेकल कम्पनी सुरु गरेका थिए । यो कम्पनीले डाटाबेस सफ्टवेयर बनाउने गर्दथ्यो। बिस्तारै यो कम्पनी क्लाउड कम्प्युटिङको संसारमा ठूलो कम्पनी बन्यो । एलिसन प्रायः विश्वका १० धनी व्यक्तिहरूको सूचीमा समावेश हुन्छन् । एलिसन आफ्नो बलियो व्यक्तित्व र विलासी जीवनशैलीका लागि परिचित छन् । २०१२ मा, उनले हवाईको छैटौं ठूलो टापु लानाईको ९८ प्रतिशत हिस्सा लगभग ३०० मिलियन डलरमा किनेका थिए । दुनियाका सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक भए पनि, एलिसनले धेरै वर्षसम्म केवल एक डलरको आधार तलब लिएका थिए । 

एलिसनले एलन मस्कसँग पनि नजिक छन् र टेस्लामा ठूलो लगानीकर्ता पनि हुन् ।  एलिसनले धेरै पटक मस्कको बचाउ पनि गर्ने गरेका छन् । उनको व्यवहारको आलोचनाको बाबजुद पनि उनी मस्कको साथमा उभिने गरेका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार