एमाले वाग्मतीको सङ्कल्पः पारदर्शी लेखा प्रणाली, ऋणमुक्त कमिटी

आइतबार, ०८ असार २०८२

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले पार्टीभित्र आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिताको संस्कृति स्थापित गर्न २५ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ। काठमाडौंमा सम्पन्न आर्थिक परिचालन तथा लेखा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा सहभागी प्रदेश, जिल्ला, महानगर र उपमहानगर कमिटीहरूले यो सामूहिक संकल्प गरेका हुन्।

नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलको प्रमुख आतिथ्य र प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीको आर्थिक संरचना सुधार गर्दै कमिटीहरूलाई आत्मनिर्भर, ऋणमुक्त र पारदर्शी बनाउन योजना सार्वजनिक गरिएको हो।

उक्त प्रशिक्षणमा पार्टीको सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने, लेखा परीक्षणलाई नियमित बनाउने र बक्यौता भएका पदाधिकारीलाई भविष्यमा जिम्मेवारी नदिने स्पष्ट नीति तय गरिएको छ। साथै, सबै कमिटीले आगामी आर्थिक वर्षदेखि पार्टी सफ्टवेयर प्रणालीमार्फत लेखा व्यवस्थापन गर्ने तयारी पनि थालिएको बताइएको छ।

उपसचिव एवं प्रचार विभाग प्रमुख भक्तकुमारी लामाका अनुसार, आर्थिक पारदर्शिता नहुँदासम्म संगठन सुदृढ हुन नसक्ने निष्कर्षका साथ एमाले वाग्मतीले आर्थिक कार्यशैली सुधारलाई प्राथमिकतामा राखेको हो। नयाँ कमिटीमा जिम्मेवारी हेरफेर हुँदा बरबुझारथ अनिवार्य गर्ने, कार्यकर्ता संरक्षण कोष र विपद् व्यवस्थापन कोष स्थापना गर्ने, र भवनविहीन कमिटीलाई आगामी तीन वर्षभित्र आफ्नै भवन निर्माण गर्न कार्ययोजना बनाउने समेत घोषणा गरिएको छ।

पार्टीको आर्थिक अनुशासन मजबुत बनाउँदै संगठनलाई स्वावलम्बी र जनविश्वासी बनाउने दिशामा वाग्मती कमिटीको यो पहल एमालेभित्र आर्थिक सुधारको नमूना बन्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार