कञ्चनपुर : रोजगारीको लोभ देखाई भारत पुर्याइएका ५८ जना नेपाली युवाको उद्धार गरी आज नेपाल फर्काइएको छ।
भारतको उत्तराखण्ड राज्यअन्तर्गत उधमसिंहनगर जिल्लास्थित रुद्रपुर र कासिपुरबाट उनीहरूलाई उद्धार गरिएको हो।
रुद्रपुरबाट २३ र कासिपुरबाट ३५ जना गरी कुल ५८ नेपाली युवा विभिन्न घरमा बन्धक बनाई राखिएको अवस्थामा फेला परेका थिए। उनीहरूलाई किन नेपाल /किन इन्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी तथा भारतीय प्रहरीको समन्वयमा गड्डाचौकी नाकाबाट नेपाल ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार रोजगारीका नाममा भारत लगिएका युवालाई घरघरमा राखेर बन्धक बनाइएको पत्ता लागेपछि दूतावासको सहयोगमा संयुक्त टोलीले उद्धार गरेको हो।
उद्धारपछि उनीहरूलाई बसमार्फत सीमा नाका हुँदै कञ्चनपुर ल्याइएको छ।
सीमा नाकामा उनीहरूको स्वागत कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माले गरेका थिए ।
उद्धार गरिएका युवामध्ये कैलाली र डोटीका ११ जना युवालाई आजै घर फर्काउने व्यवस्था मिलाइएको छ। बाँकी अन्य जिल्लाका युवाका लागि अस्थायी बसोबासको व्यवस्था गरिएको छ।
उद्धार गरिएका अन्य युवाहरू चितवन,सुनसरी,पाँचथर,ताप्लेजुङ,तेह्रथुम,दाङ,बाँके,स्याङ्जा,धादिङ,कास्की,सर्लाही,रुकुम,बागलुङ,इलाम र रुपन्देही जिल्लाका रहेका छन्।
प्रहरीका अनुसार ती युवाहरूलाई रोजगारीको झुटो प्रलोभनमा पारेर भारत पुर्याइएको थियो र उनीहरूलाई लग्ने दलालहरूको खोजी तथा आवश्यक अनुसन्धान कार्य भइरहेको छ।
प्रतिक्रिया