तीजको दर : पारिवारिक मिलाप र संस्कृतिको सुगन्ध

सोमबार, ०९ भदौ २०८२

काठमाडौं : आज तीज पर्वको विशेष दिन ‘दर खाने दिन’ मनाइँदैछ। पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित यो पर्वले विवाहित छोरी र माइतीबीचको सम्बन्ध प्रगाढ बनाउने अवसर दिन्छ।

अतीतमा, आजको जस्तो भौतिक सुविधा थिएन। गाउँ–गाउँ जानका लागि पैदल यात्रा गर्नु पर्थ्यो, खोलानाला पार गर्ने पुल थिएनन्, र सञ्चारका माध्यमहरू पनि सीमित थिए। त्यतिबेला तीजमा विवाहित दिदीबहिनीहरूलाई माइती घरमा लिन जाने चलन थियो। पुराना तीजका गीतहरूमा त्यो समयको कठिनाइ र पारिवारिक जीवन झल्किन्छ।

आजको सामाजिक परिवेशमा ठूलो परिवर्तन आएको छ। संयुक्त परिवार विभाजन भई सदस्यहरू धेरैतिर बस्थे, र महिलामा आत्मनिर्भरता तथा सशक्तिकरण बढेको छ। यसका कारण दर खाने परम्परामा पनि केही फरक देखिन्छ। वर्षमा एकदिन भए पनि विवाहित छोरी सहित तीन पुस्ता एउटै छानोमुनि भेला भएर दर खाने परम्पराले पारिवारिक आत्मियता र संस्कृतिको सुगन्ध अनुभव गराउँछ।

प्रधानमन्त्री के.पी. ओलीले आफ्नो सन्देशमा यस दिनले सबै माइती र छोरीबीचको प्रेम र पारिवारिक ममता अझ प्रगाढ बनोस् भन्ने कामना व्यक्त गरेका छन्।

आजको दिनले पारिवारिक एकता र नेपाली सांस्कृतिक पहिचानलाई बलियो बनाउने अवसर प्रदान गर्छ।

दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने
यो व्रत सक्नेले निराहार बस्ने भएकाले सोमबार व्रतालुले मीठा मीठा परिकार दरका रूपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृति बनाइरहेको धेरैले बताउने गरेका छन् । 

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीको जोड छ । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा यसका लागि तोकिएको छ । 

सोमबार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार