काठमाडौँ : पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि वन तथा वातावरण मन्त्रालयले तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयनमा लैजाने भएको छ। बुधवार मन्त्रालयले विकास साझेदार संस्थासँग अन्तरक्रिया गर्दै आवश्यक सुझाव सङ्कलन गरेको हो।
वनमन्त्री ऐनबहादुर शाही ठकुरीले हात्तीको आक्रमणबाट मानवीय तथा कृषि क्षेत्रलाई भइरहेको क्षति चिन्ताजनक बनेकाले दीर्घकालीन तथा तत्कालीन योजना बनाएर लागू गर्ने प्रतिबद्धता जनाए ।
उनले क्षतिको राहत प्रक्रिया सहज बनाउने तयारीसमेत मन्त्रालयले गरिरहेको बताए ।
सन् २००० यता हात्तीको आक्रमणबाट ३४५ जनाको मृत्यु भइसकेको छ भने मानिसका कारण ५५ वटा हात्ती मारिएका छन्। प्रभावित क्षेत्रका अधिकांश विपन्न वर्ग भएकाले यो समस्या अब वन मन्त्रालयको मात्र नभई समग्र सरकारको एजेन्डा बन्नुपर्नेमा राज्य मन्त्री रुपा विकले जोड दिए ।
सहसचिव बुद्धिसागर पौडेलले बदलाको भावना हटाउन राहत निर्देशिका सरल बनाइने जानकारी दिँदै वैकल्पिक खेती तथा चेतनामूलक कार्यक्रममार्फत समस्या समाधान गर्नुपर्ने बताए।
नेपालमा हाल २३० जङ्गली र १८० पालिएका हात्ती छन्। डब्लुएफएफ नेपालका डा. घनश्याम गुरुङले भारतबाट आउने हात्तीबाट पनि क्षति हुने भएकाले भारतसँग समन्वय आवश्यक रहेको बताए।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका डा.नरेन्द्रमानबाबु प्रधानले सचेतना र स्थानीयको व्यवहार परिवर्तनले क्षति ७० प्रतिशतसम्म घटाउन सकिने दाबी गरेका छन।
सम्बन्धित विज्ञहरूले प्रविधिको प्रयोग,फेन्सिङ तार, हात्तीको रुटको पहिचान, बीमा सुविधा, र स्थलगत कर्मचारीलाई पर्याप्त स्रोत उपलब्ध गराउने विषयमा सुझाव दिए।
वन मन्त्रालयले हालसम्म क्षतिकारी हात्तीको उद्धार,उपचार,राहत वितरण,सचेतना कार्यक्रम,तारबार निर्माण,मृतक परिवारलाई छात्रवृत्ति तथा रोजगार र वैकल्पिक खेतीमा सहुलियतका कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ।
समग्रमा, मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि मन्त्रालयले प्राविधिक,सामाजिक र राजनीतिक समन्वयको बहुआयामिक कार्य योजना अघि सारेको छ।
प्रतिक्रिया