काठमाडौँ : हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको सहज आवागमन र सुरक्षित दर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यस वर्ष तीजमा लाखौँ भक्तजनको उपस्थितिलाई लक्षित गर्दै दर्शनका लागि चार विशेष मार्ग तोकिएको छ भने सुरक्षा, स्वास्थ्य, स्वयंसेवा, चन्दन–प्रसाद वितरणदेखि भजन कीर्तन र धार्मिक संस्कारसम्म सबै व्यवस्था मिलाइएको छ।
भक्तजनका लागि चार विशेष मार्ग
गौरीघाट–उमाकुण्ड–उत्तरढोका हुँदै प्रवेश, पश्चिम मूल ढोकाबाट बाहिरिने।
मित्रपार्क–जयवागेश्वरी–फलामे पुल हुँदै सानो ढोकाबाट प्रवेश, मूल ढोकाबाट बाहिरिने।
पिङ्गलास्थान–पञ्चदेवल–कोटिलिङ्गेश्वर हुँदै दक्षिण ढोकाबाट प्रवेश–निर्गमन।
तिलगङ्गा–राम मन्दिर–आर्यघाटको पुल हुँदै पूर्व ढोकाबाट प्रवेश–निर्गमन।
प्रत्येक मार्ग नजिकै जुत्ता–चप्पल सुरक्षित राख्न अस्थायी कक्ष निर्माण गरिएको छ।
बिहानैदेखि खुल्ने ढोका
तीज व्रतालुको भीडलाई ध्यानमा राख्दै भद्र ७ गते बिहान ३ बजेदेखि नै मन्दिरका सबै ढोका खोलिने कोषले जनाएको छ।
दर्शनार्थीलाई व्यवस्थित गर्न मन्दिरभित्र आठवटा लामको व्यवस्था मिलाइएको छ भने श्रीयन्त्र पूजाका बेला भक्तजनले जालीमार्फत बाहिरैबाट दर्शन गर्न सक्नेछन्।
भक्तजनका लागि विशेष सुविधा
चन्दन वितरण: उमाकुण्ड, तिलगङ्गा, पञ्चदेवल, जयवागेश्वरीसहित विभिन्न स्थानमा केन्द्र।
धार्मिक संस्कार: गौदान र पूर्णपात्रो संस्कारका लागि भकुण्टोल–वनकाली क्षेत्रमा व्यवस्था।
स्वास्थ्य र स्वयंसेवा: आकस्मिक स्वास्थ्य सेवा, स्वयंसेवक, सरसफाइ अभियान, भजन कीर्तन र दीपावली कार्यक्रम।
कडा सुरक्षा व्यवस्था
नेपाल प्रहरी, सशस्त्र प्रहरी, आवश्यकताअनुसार नेपाली सेना खटिनेछन्। राष्ट्रिय अनुसन्धान विभागबाट अनुगमन गरिनेछ भने पाकेटमार तथा अवाञ्छित क्रियाकलाप रोक्न सादा पोसाकमा प्रहरी दुई दिन अघिदेखि नै परिचालन हुने कोषले जनाएको छ।
प्रतिक्रिया