धरान बीपी प्रतिष्ठानमा पहिलो पटक रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु

सोमबार, ०९ भदौ २०८२

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दीर्घकालीन पीडा व्यवस्थापनका लागि अत्याधुनिक रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु गरिएको छ । 

प्रतिष्ठानको एनेस्थेसियोलोजी विभागको पहलमा पहिलो पटक यो सेवा सञ्चालनमा ल्याइएको हो । यो सेवाको सुरुआतसँगै ट्राइजेमिनल न्युराल्जिया का एक जना बिरामीको ग्यासेरियन गैङ्गिलयन आरएफए प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए ।

उनका भने, ट्राइजेमिनल न्युराल्जिया अनुहारको एक भागमा अत्यन्त तीव्र र झट्का लाग्ने पीडा दिने स्नायु सम्बन्धी रोग हो, जसमा सामान्य औषधीय उपचार प्रभावकारी नहुन सक्छ । यस्तो अवस्थामा आरएफए प्रविधिले दीर्घकालीन राहत दिन सक्छ । 

रेडियोफ्रिक्वेन्सी ऊर्जा प्रयोग गरी समस्याग्रस्त स्नायुको सानो भागलाई लक्षित गरी नष्ट गरिन्छ, जसले पीडामा उल्लेखनीय कमी ल्याउँछ, डा. कुमारले भने, यो प्रक्रिया इमेज गाइडेड प्रविधिबाट गरिने भएकाले थप सुरक्षित र सटीक मानिन्छ ।

नयाँ सेवा सञ्चालनसँगै पूर्वी नेपालमा पीडा व्यवस्थापनको क्षेत्रमा नयाँ आयाम थपिएको प्रतिष्ठानले जनाएको छ । यस प्रविधिले मेरुदण्ड, काँध, घुँडा, स्याक्रोइल्याक जोइन्ट, ट्राइजेमिनल न्युराल्जिया, ओसिपिटल न्युराल्जिया, क्यान्सरजन्य र न्युरोप्याथिक पीडा तथा शल्यक्रियापछि बाँकी रहने पीडामा समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।

डा. कुमारका अनुसार सही बिरामी छनोट, इमेजिङमार्फत मार्गदर्शन र विशेषज्ञको अनुभवका आधारमा गरिएको आरएफए प्रक्रियाले औषधिको प्रयोग घटाउँदै दीर्घकालीन राहत दिन सक्छ, जसले बिरामीको जीवनस्तरमा महत्त्वपूर्ण सुधार ल्याउँछ ।

साथै, बीपी प्रतिष्ठानले हाडजोर्नी विभागमार्फत डेक्सा स्क्यान सेवा पनि सुरु गरेको छ । हड्डीको घनत्व मापन गर्न प्रयोग हुने यो परीक्षणले ओस्टेओपोरोसिस लगायतका हड्डी कमजोर हुने रोगको समयमै निदान गर्न सहयोग पु¥याउने प्रतिष्ठानले जनाएको छ । हाल यो सेवा हरेक दिन हाडजोर्नी ओपिडीमा उपलब्ध गराइएको छ ।

डा. कुमारका अनुसार, कतिपय अवस्थामा कम उमेरमै पनि हड्डी कमजोर हुने समस्या देखिने भएकाले बेलैमा परीक्षण गरी उपचार गर्न सकिनेछ ।
 

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार