विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले अहिलेको शिक्षा जीवनोपयोगी र प्रविधिमैत्री हुनुपर्ने बताएका छन् ।
विराटनगर महानगरपालिका–२ मा रहेको जनता नमुना विद्यालयको पुनःनिर्माण गरिएको भवन र नयाँ सामाग्री हस्तान्तरण गर्दै उनले जीवनोपयोगी र प्रविधिमैत्री शिक्षा हुनुपर्नेमा जोड दिएका हुन् । सामाजिक कार्यमा रोटरी क्लबले छुट्टै छवि बनाएको बताउँदै मन्त्रीले राईले भने, ‘क्लबले विशेष गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक काम गरेकोमा धन्यवाद दिन्छु । ३ तहको सरकारसँग समन्वय गरी काम गरेकाले सरकारलाई सहयोग पुगेको छ ।’
मन्त्रीले राईले विद्यालयलाई बालमैत्री, प्रविधिमैत्री बनाउने कुरामा क्लबले ठूलो सहयोग गरेको बताए । हामीले अहिले प्राप्त गर्न खोजको शिक्षा पनि गुणात्मक प्राविधिक व्यावसायिक शिक्षा नै भएको बताउँदै उनले भने, ‘हाम्रा विद्यालयमा प्राप्त गर्ने शिक्षा अझ गुणात्मक र प्रविधिमैत्री शिक्षा हुनुपर्छ । हाम्रो शिक्षा जीवनोपयोगी हुनुपर्छ । यस्तो भयो भने मात्रै हामीले ल्याएको शिक्षाबाट समाज रुपान्तरण गर्दै राष्ट्र रुपान्तरण गरी समृद्धि हासिल गर्न सक्छौं । प्रविधिसँग सिक्दै अहिलेको जमाना अनुसार आईटी, एआईजस्ता प्रविधिसँग सिक्नपर्छ ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका रोटरी क्लब अफ विराटनगरका अध्यक्ष मनोजविक्रम शाह, क्लबका पूर्वअध्यक्ष कमल बस्नेत, विद्यालयका प्रधानाध्यपक चिन्तामणि रिजाल, रोटरी क्बलका कमल अग्रवाल, वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेललगायतले शुभकामना व्यक्त गरेका थिए । रोटरी क्लब अफ विराटनगरले रोटरी फाउण्डेसनको ६० लाख रुपैयाँको सहयोगमा विद्यालयको भवन, शौचालय, डेस्कबेञ्च, सीसी क्यामेरा, कम्प्युटर, शुद्ध पानीको व्यवस्थालगायतको काम गरेर विद्यालयलाई हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया