जापान जाने प्रशिक्षार्थी कामदारमाथि "सिन्डिकेट"को लुट, कारबाहीका लागि शिवाकोटीको माग

शुक्रबार, १३ असार २०८२

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान चाहने प्रशिक्षार्थी युवामाथि भइरहेको शोषणलाई ‘गम्भीर सिन्डिकेट’को उपज भन्दै तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।

शुक्रबार बिहान सार्वजनिक सामाजिक सञ्जालमार्फत उनले जापानी भिसा प्राप्त गरिसकेका युवाहरूलाई पुनः भाषा परीक्षा दिन बाध्य बनाउने प्रक्रिया गैरकानुनी, अन्यायपूर्ण र अमानवीय भएको भन्दै गम्भीर आपत्ति जनाए। “जब जापानी पक्षले भिसा जारी गरिसकेको छ, त्यसपछि फेरि भाषा परीक्षा लिने बहानामा युवाहरूलाई रोक्ने, अलमल्याउने र आर्थिक रूपमा शोषण गर्ने कार्य कुनै हालतमा स्वीकार्य छैन,” उनले लेखे।

शिवाकोटीका अनुसार यो समस्या विगत १५ वर्षदेखि चलिरहेको एउटा सुनियोजित ‘सिन्डिकेट’को परिणाम हो, जसले प्रशिक्षार्थी युवाको श्रम बेचेर व्यक्तिगत नाफाको धन्दा चलाउँदै आएको छ। उनले जापान सरकारअन्तर्गतको जाइका, एल्मुना एसोसिएसन नेपाल र वैदेशिक रोजगार विभागबीचको साझेदारीलाई सोही सिन्डिकेटको उदाहरणका रूपमा उल्लेख गरे।

“भिजिट भिसा प्रकरणजस्तै यो पनि भयावह बन्दैछ,” उनले भने, “सरकारी संयन्त्रको नाममा केही सीमित व्यक्ति र संस्थाले निर्दोष युवाको सपना र परिवारको लगानीमा खेलवाड गरिरहेका छन्।”

शिवाकोटीले वैदेशिक रोजगार विभागलाई सुशासन र पारदर्शिताको अभ्यास गर्न आह्वान गर्दै अनधिकृत संस्था तथा एजेन्टलाई तत्काल श्रम प्रक्रियाबाट हटाएर कानुनी कारबाही थाल्न माग गरेका छन्। साथै, उनले युवाको श्रमको सम्मान नगर्ने अवस्था रहिरहेमा देशभित्रको बेरोजगारी समाधान गर्न सक्ने नैतिक आधार नै गुम्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार