धरानमा पहिलो पटक ‘मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ हुने,

विहीबार, १९ असार २०८२

धरान : नेपाल तरुण दल, सुनसरी क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले ‘मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ आयोजना गर्ने भएको छ।

 राष्ट्र निर्माणमा तरुणहरूको योगदान भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल तरुण दलले यही आउँदो भदौ २७ र २८ गते धरान-१५ स्थित सदन स्कुलमा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो।

नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ ले हालै सम्पन्न गरेको आफ्नो पहिलो बैठकबाट युवाहरूको क्षमता अभिवृद्धि तथा खेलकुद क्षेत्रलाई व्यावसायिक रूप दिन यस किसिमको कार्यक्रम सुरु गर्ने निर्णय गरेको जनाएको छ। यसअघि ‘तरुण लिडरसिप एक दिने तालिम’ सफलतापूर्वक सम्पन्न गरिसकेको दलले अब खेलकुद मार्फत नेपाली युवा प्रतिभाहरूलाई अगाडि ल्याउने योजना बनाएको हो।

कार्यक्रमका संयोजक तथा मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२ का अध्यक्ष अजय राईका अनुसार प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरू चयन गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न हौसला दिने उद्देश्य रहेको बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार विजेताले नगद रु.१ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै ‘बेस्ट पोसर’ र ‘मोस्ट मस्कुलर’ उपाधि विजेताले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। 

आयोजकका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब रु. ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खेलकुद प्रवर्द्धनसँगै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने आयोजकको भनाई छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार