काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।
शनिवार परिवर्तन नेपाल नामक संस्थाले काठमाडौँको नेपाल टारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउन भनेका हुन् ।
देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको स्वीकारेका महामन्त्री थापाले कुनै पनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए ।
एसइई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गर्दै उनले अबको जिम्मेवारी विद्यार्थीहरूले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए। उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्न पनि सुझाव दिए ।
आयोजक संस्थाका अगुवा एवम् कांग्रेस नेता सुशील भट्टले एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको भन्दै नव युवाहरूलाई प्रोत्साहित गर्न आफू सधैँ तत्पर रहने बताए ।
प्रतिक्रिया