प्रविधि क्षेत्रमा अपार सम्भावना : मन्त्री पन्त

शनिबार, २१ असार २०८२

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विज्ञान र प्रविधिको तीव्र विकाससँगै रोजगारीका नयाँ अवसरहरू खुलेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले काठमाडौंमै एक लाखभन्दा बढी युवा घरमै बसेर अनलाइनमार्फत काम गरेर मासिक ५० हजारदेखि ३ लाख रुपैयाँसम्म कमाइरहेका उदाहरण प्रस्तुत गरे।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा एसईई परीक्षा उत्तीर्ण गरेका रामेछापका विद्यार्थीलाई बधाई तथा सम्मान प्रदान गरिएको थियो। साथसाथै, पार्टीका विभिन्न जनसंगठनमा रामेछापबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

मन्त्री पन्तका अनुसार, नेपालले गत वर्ष आइटीमार्फत ६०–७० अर्ब रुपैयाँ कमाएको छ। उनले भने, “यो त देखिने तथ्याङ्क मात्र हो, कम्पनीमार्फत आएको रकम हो, व्यक्तिगत कामको हिसाब जोड्ने हो भने एक खर्ब रुपैयाँसम्म पुग्छ।”

उनले प्रविधिलाई आवश्यक भविष्यको क्षेत्रको रूपमा चित्रण गर्दै एआई (कृत्रिम बौद्धिकता) को विकाससँगै मानवीय श्रमको आवश्यकता धेरै क्षेत्रमा घटिरहेको बताए। त्यसैले अहिलेको पुस्ताले प्रविधिमा दक्षता हासिल गर्नैपर्ने धारणा उनले व्यक्त गरे।

उनले डिजिटल मिडियाको सही प्रयोग नगरेमा परिवार र समाजमा विभाजन ल्याउने खतरा रहेको बताए। “फेसबुक हेरेर धारणा बनाउने प्रवृत्ति गलत हो, तर डिजिटल दुनियाँबाट भाग्न पनि सकिँदैन, त्यसलाई आफ्नो अनुकूल उपयोग गर्नुपर्छ,” उनले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार