विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बीमा सेवालाई सर्वसुलभ र झन्झटरहित बनाउन बीमा कम्पनीहरूलाई आग्रह गरेका छन्। आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बीमाको पहुँच आम नागरिकसम्म पुर्याउन सेवा प्रणालीलाई सहज र प्रभावकारी बनाउनु आवश्यक रहेको बताए।
मुख्यमन्त्री कार्कीले भने, “राज्यले बीमा कम्पनीहरूलाई कानुनी सुविधा दिन्छ, तर बीमा लिन चाहने सर्वसाधारण नागरिकले भने प्रक्रिया पुरा गर्न सक्दैनन् भने त्यो विडम्बना हो।” उनले बीमा लिनेदेखि दाबी भुक्तानीसम्मको प्रक्रिया छरितो, पारदर्शी र नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिए।
उनले कोशी प्रदेश सरकार अब प्रदेशमै बीमा नीति निर्माणका लागि कार्यदल गठन गर्ने तयारीमा रहेको पनि जानकारी दिए। “हामी बीमालाई कृषि, पशुपालन र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा पहुँच पुर्याउने गरी काम गर्छौं,” उनले थपे। गम्भीर प्रकृतिका रोगहरूको बीमामा विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले बीमा कम्पनीहरूलाई जनतासँग सहकार्यमा उत्रिन आह्वान गरे।
अन्तरक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कोशी प्रदेशमा वार्षिक ३ अर्ब रुपैयाँ बराबरको बीमा प्रिमियम सङ्कलन हुने गरेको र करिब डेढ अर्ब रुपैयाँ बराबरको भुक्तानी हुने तथ्य प्रस्तुत गरे। उनले प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण सधैं तयार रहेको प्रतिबद्धता जनाए।
कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू, बीमा कम्पनीका प्रतिनिधिहरू र सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया