त्रिवि अध्यागमन कार्यालयले सुरु गर्‍यो ‘गुनासोरहित’ सेवा

आइतबार, २२ असार २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले गुनासोरहित सेवा आरम्भ गरेको छ । कार्यालयले विमानस्थलबाट दिने सेवाको विश्लेषण गरी गुनासोरहित सेवा आरम्भ गरेको हो । कार्यालयले डिजिटल प्रविधिमार्फत कार्यप्रणालीमा सुधार, पारदर्शी प्रक्रियाको प्रवद्र्धन र दक्ष जनशक्ति परिचालन गरी गुनासोरहित सेवा शुरू गरेको हो ।

त्यसका लागि अध्यागमन कार्यालयले आफ्नो सेवाको बारेमा जानकारी दिन अनलाइन सर्भे फारम भर्न सुरुवात गरिसकेको छ । सेवा प्रवाहलाई चुस्त पार्न भारतीय र चिनियाँ पर्यटकलाई छुट्टै डेक्सको व्यवस्था गरेको छ । त्यसै गरी मुस्कानसहित सेवा दिन हरेक डेक्समा बस्ने अधिकृतका लागि आन्तरिक आचारसंहिता तयार गरेको छ ।

आधुनिक पूर्वाधारको अभाव, समसामयिक कानुनी संरचना नहुनु र दक्ष एवं उच्च मनोबलयुक्त जनशक्तिको असीमितताका कारण गुनासो बढेको थियो । त्यसलाई निराकरण गर्न कार्यालयले गुनासोरहित व्यवस्थित सेवा शुरू गरेको जनाएको छ । कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले सबै प्रकारको गुनासो संकलन र विश्लेषण गरी गुनासोरहित सेवा शुरू गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘गुनासोमात्र होइन मुस्कानसहितको सेवासमेत सुरुवात गरिसकेका छौं । यसलाई सधैं लागू गराउनेछांै ।’

उहाँले भन्नुभयो– ‘थुप्रै समस्या देखिएका छन्, क्रमैसँग समाधान गरी चरणबद्ध योजना तयार पारी कार्यान्वयन गरिरहेका छौं । विमानस्थलमा नेपाली पोर्टमा देखिएको प्रणालीगत अवरोध, भिजिट भिसामा देखिएको प्रक्रियागत असंगतिले सेवा प्रवाहमा जटिलता थप्नुको साथै सेवासम्बन्धी गुनासो बढेपछि त्यसलाई सुधार गर्दै गुनासोरहित सेवा आरम्भ गरेको कार्यालयले जनाएको छ । कार्यालयले शिक्षा मन्त्रालयले उपलब्ध गराउने एनओसीलाई अध्यागमन अनलाइन पोर्टलमा जोडेको छ ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीले लिएको एनओसी प्रमाणपत्र विमानस्थलको पोर्टलमा लिंक गरिएको छ । अर्थात् विद्यार्थीले गन्तव्य राष्ट्र प्रस्थान गर्नुअघि विमानस्थालमा एनओसी लेटर देखाउँदा कार्यालयले डिजिटल र फिजिकल भेरिफाइ गर्नेछ । ‘यो सेवा पहिलादेखि नै थियो, एक महिनायता यसलाई कडाइका साथ पालना गराएका छौं’ –कार्यालय प्रमुख कोइरालाले भन्नुभयो । त्यसै गरी सबै भीआईभीले विदेश प्रस्थान र आगमन गर्दा अनिवार्य रूपमा डिजिटल रेकर्ड राख्न शुरू भएको छ ।

विदेशी राष्ट्रका उच्च ओहोदाका पाहुना नेपाल प्रवेश गर्दा सबैको डिजिटल फोटो रेकर्ड राख्न थालिएको छ । यसअघि परराष्ट्रमन्त्री स्पेन भ्रमणमा जाँदा र भ्रमणबाट फर्किंदा सबैको फोटोसहित रेकर्ड राखिएको छ । शुक्रवार नेपाल फर्कनुभएका प्रधानमन्त्रीको सबै टोलीको फोटो लिइएको छ । विमानस्थल कार्यालयले दिने सेवामा व्यवस्थित गर्न कार्यालयले दर्जन बढी सुधारका कामको शुरुवात गरेको हो ।

‘विमानस्थलबाट दैनिक करिब १५ हजार सेवाग्राहीले सेवा लिने गरेका छन् । अब सबै सेवाग्राहीलाई डिजिटल सेवा दिने योजना अघि बढाएका छांै’ –प्रमुख कोइरालाले भन्नुभयो । आचरण र व्यवहारमा सुधार ल्याउन तालिम तथा अभिमुखीकरण कार्यक्रमको व्यवस्था गर्ने, सिफ्ट परिवर्तन हुँदासमेत अर्को कर्मचारीलाई डेस्क हस्तान्तरण नगरी डेक्स छाड्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गरेको छ ।

अध्यागमन कार्यालयले समस्या समाधान र सुधारका कार्ययोजना तयार गरी कार्यन्वयन गर्न थालेको हो । कार्यालयले प्रस्तान कक्षतर्फ देखिएका समस्या औंल्ल्याउँदै त्यसलाई कार्यान्वयन गर्न शुरू गरेको छ । प्रस्थानकक्षतर्फ डेक्सको संख्या कम हुनु, डेक्स अगाडि स्पेस कम हुनु, अध्यागमन निकायले चेकजाँच गर्ने कागजात प्रवेश बिन्दुदेखि उपस्थित अधिकांश निकाय, सुरक्षाकर्मी, हवाइसेवा कम्पनी, ग्राउन्ड हेन्डलङमा रहेका नेपाल एयरलाइन्सका कर्मचारीसमेतले अनावश्यक चेकजाँच गर्ने र यात्रुलाई विनाकारण अध्यागमनस्थल र प्रक्रियामा प्रवेश नगराई फिर्ता गरिदिँदा यसको दोषसमेत अध्यागमन प्रशासनले भोग्नुपरेको तितो यतार्थलाई न्यूनीकरण गर्न कार्यालयले अनावश्यक कर्मचारीलाई डेक्समा कडाइ गर्न शुरू गरेको छ ।

त्यस्तै, भिजिट भिसामा प्रस्थान, कतिपय प्रस्थान अनुमति नदिएका मुलुकमा प्रस्थान र नेपालको श्रम अनुमति नदिएका मुलुकमा प्रस्थानलगायतका विषयमा सम्बन्धित व्यक्तिलाई जानकारीको अभाव भएको देखिएको छ । त्यस विषयमा सरोकारवाला निकायले कुन मुलुकमा अनुमतिपत्र दिने व्यवस्था छ र नभएको मुलुकमा कसरी अनुमति लिने भन्ने विषयमा शुरूमै जानकारी दिने व्यवस्था मिलाउन लागिएको छ ।

अध्यागमन विभाग र विमानस्थल कार्यालयले तयार गरेको कार्ययोजनामा विमानस्थलतर्फको प्रस्थान कक्षमा डेक्स थप गर्ने र डेक्स अगाडिको संरचना हटाउने, प्रवेश र प्रस्थान बिन्दुमा रहेका हरेक निकायले आफ्नो क्षेत्रधिकारका विषयमा मात्र चेकजाँच गर्ने, भिजिट भिसासम्बन्धी छुट्टै कार्ययोजना बनाई लागू गर्नेलगायतका सुधारका योजना अघि बढाएको छ । भिजिट भिसा प्रस्थान, कतिपय प्रस्थान अनुमति नदिइएका मुलुकमा प्रस्थान र नेपालले श्रम अनुमति नदिएका मुलुकमा प्रस्थानलगायत विषयमा नीतिगत सुधार गरी जनचेतना अभिवृद्धि कार्यक्रम शुरू गर्ने योजना रहेको अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

कार्यालयले कम्तीमा पनि ठूला अर्थतन्त्र भएका र नेपालीले बढी संख्यामा यात्रा गर्ने मुलुककोे भिसा नेपाली पोर्टलबाट जाँच गर्न मिल्ने गरी सुधार गर्ने, सम्बन्धित एयरलाइन्स कम्पनीलाई समयमै बोर्डिङपास दिने गरी जिम्मेवार बनाउने, प्रस्थान बिन्दुको जानकारीका लागि ट्राभल एड्भाइजरी सम्बन्त्री विवरण फ्लेक्स बोर्डमा श्रव्यदृश्यको रूपमा गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । कार्यालयका अधिकृत कोइरालाले सुधार कार्ययोजनामा भएकामध्ये केही लागू भइसकेको तथा बाँकी योजना केही महिनाभित्र लागू गर्ने गरी योजना भइरहेको जानकारी दिनुभयो । यसअघि अध्यागमन कार्यालयले भिजिट भिसामा विदेश यात्रा गर्दा पालना गर्नुपर्ने ७ बँुदे आग्रह गरेको थियो । सबै आग्रहलाई कडाइका साथ लागू भइसकेको अधिकृत कोइरालाको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार