बिमलेन्द्र निधिमाथि खनिए एमाले नेता रघुवीर महासेठ

आइतबार, २२ असार २०८२

जनकपुर । नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन् ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए ।

जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण जस्ता दर्जनौँ बढी विकास निर्माणका कार्यहरू नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ ।

राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पत्नी जुली महतोले अवरोध गरेको भन्दै शनिवार (हिजो) नेता निधिले जनकपुरधाममा पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए ।

सो कुराको नेता महासेठले खण्डन गरेका छन् । उनले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जतिसक्दो निर्माण कार्य अगाडि बढाउन छलफल समेत गरेको जानकारी दिए । राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा आफ्नो र आफ्नो पार्टीको कुनै पनि आपत्ति नरहेको महासेठले बताए ।

नेता निधिले आफ्नो व्यक्तिगत स्वार्थका लागि विभिन्न विकास निर्माणका कार्यहरूमा पटक पटक अवरोध सृजना गर्दै आएको एमाले नेता महासेठले आरोप लगाए ।

महासेठले धनुषाको प्रहरी प्रशासनले पनि राम्ररी काम नगर्ने गरेको आरोप लगाएका छन् । पदीय दायित्वलाई बिर्सेर एक पक्षीय रूपमा मात्र काम गरिरहेको उनले बताए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार