काठमाडौँ । कृषि मन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा पर्याप्त मल नभए पनि मलको अभाव भने नरहेको बताएका छन् ।
आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले किसानले मल नै पाइएन भन्ने परिस्थिति नरहेको बताएका हुन् ।
उनले भने, ‘म सत्यताका साथ भन्छु यो सिजन खेतीको हो, खेतीको मौसममा सम्भव भएसम्म मल पुर्याउनका लागि राम्रो प्रयत्न गरेका छौ । वास्तवमा भन्दा अहिले किसानलाई मल दिन सकिएन भने किसानलाई अत्यन्तै अप्ठेरो पर्छ । हामीसँग मलको अभाव नै त छैन । मल छ पर्याप्त नहुन सक्छ । किसानले मल नै पाइएन भन्ने परिस्थिति छैन ।’
उनले नागरिकलाई भ्रममा पार्नु नहुने भन्दै मन्त्री र मन्त्रालयको तहबाट गर्नुपर्ने काम नरोकिएको पनि बताए ।
‘हाम्रो तर्फबाट गरिनुपर्ने काममा कहिबाट रोकिएको छैन । मन्त्री र मन्त्रालयको तहबाट काम गर्न रोकिएको छैन । कुपनको आधारमा पालिकाले प्रदेशको कृषि मन्त्रालय र पालिकाबाट वडा तहले दिइएको सिफारिस भन्दा बाहिर अन्यत्र जान हुँदैन भनेर खबरदारी गरेका छौ । कहिलेकाहीँ पक्षपात भयो भन्ने कुरा आउँछ त्यसमा पनि ध्यान दिनुपर्छ,’उनले भने ।
यसैगरी बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ३० प्रतिशत र कृषि सामाग्री कम्पनी लिमिटेडलाई ७० प्रतिशत अनुदान उपलब्ध गराइरहेको जानकारी दिए ।
उनले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडको क्षमता र बिक्री वितरणको अवस्था मध्यनजर गरी रासायनिक मलको कोटाको प्रतिशत निर्धारण गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन समेत दिने बताए ।
समितिको आजको बैठकमा नेपाल सरकारद्वारा किसानहरूलाई अनुदान उपलब्ध गराउने रासायनिक मलको आयात तथा बिक्री वितरणका लागि निर्धारण भएको कोटाका सम्बन्धमा छलफल गरिएको थियो ।
प्रतिक्रिया