भोजपुर। भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनापछि मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
शनिबार राति भएको सामूहिक हत्याकाण्डमा ३० वर्षीय राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए। प्रहरीका अनुसार छुरा प्रयोग गरेर हत्या गरिएको हो।
मृतकको शव आइतबार बिहान भोजपुर अस्पतालमा ल्याइएको थियो। तर, अस्पतालमा फरेन्सिक परीक्षण गर्न आवश्यक उपकरणको अभाव भएकाले शवलाई सोमबार बिहान धरान पठाइएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
घटनामा संलग्न अभियुक्त राजेन्द्र राई आफैंले प्रहरीमा खबर गरेका थिए। उनको शरीरका केही भागमा चोट देखिएकोले हाल उनलाई पनि धरानमै उपचार गरिँदैछ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा छोरीलाई माइतीमै राखेको विषयमा विवाद भएपछि राईले आक्रोशमा हत्या गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया