ओझेलमा ताप्लेजुङको ढङ्ढङ्गे झरना

सोमबार, २३ असार २०८२

फुङ्लिङ। सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ ।

सिदिङ्वा—५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैंमा बाजाको ताल जस्तो लाग्छ । यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढङ्गे’ नामकरण दिएका हुन, जहाँ जलको बहाव र चट्टानको सङ्घर्ष सङ्गीत बनिन्छ ।

स्थानीय असलबहादुर राईले भने, “पहिला त फावाखोला भन्ने गरिन्थ्यो, अहिले ढङ्ढङ्गे भनेर चिनिन्छ । बाजाबजाए जस्तो आवाज आउँछ ।”

ढङ्ढङ्गे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ, कि एक पटक पुग्ने जो कोहीको स्मृतिमा अमिट रूपमा बस्छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ ।

स्थानीय अब बाह्यपर्यटक पनि आकर्षित हुने आशामा छन् । स्थानीय नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन् । “हामी त पर्खिराखेका छौँ । बाहिरबाट पनि पर्यटक आएर आम्दानीको स्रोत बनोस् भनेर ।” स्थानीय नारायणप्रसाद राई बताउँछन्।

झरनामा पुग्ने आन्तरिक पर्यटकको अनुभव विशेष हुन्छ । दृश्य सुन्दर मात्र होइन, आत्मामा शान्ति दिने किसिमको अनुभूति उनीहरूले व्यक्त गरेका छन् ।“नाम सामान्य लाग्यो तर दृश्य हेर्दा मुखमै मुस्कान आयो । यस्तो प्राकृतिक उपहार देख्दा मन रमायो ।” अन्तरिक पर्यटक साहारा लिम्बूले बताए।

झरनालाई पर्यटकीय क्षेत्र बनाउका लागि स्थानीय सरकार पनि सक्रिय देखिन्छ । झरनासम्म पुग्न ढुङ्गाका गोरेटो बाटा बनाइएका छन्, होमस्टे निर्माणको तयारी भइरहेको छ । आगामी नीति तथा कार्यक्रममा ढङ्ढङ्गे झरनालाई विशेष प्राथमिकता दिइएको सिदिङवागाउँपालिका उपाध्यक्ष बन्दना कडरीयाले बताए।

तर अझै पनि झरनाको आधिकारिक लम्बाइमापन गरिएको छैन । वैज्ञानिक दृष्टिकोणले यसको अध्ययन आवश्यक छ । प्रचारप्रसारलाई तीव्रता दिन सकिएमा यो झरना जिल्लाको अर्को पर्यटकीय परिचय बन्न सक्छ । जिल्ला सदरमुकाम फुङ्लिङ बजारदेखि पाँचथरको गणेश चोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुग्न सकिन्छ ।

साब्लाखुदेखि करिब ४० मिनेटपछि ढङ्ढङ्गे झरना सम्मपुग्न सकिन्छ । झरनासम्म नै सहजरुपमा मोटर बाटो विस्तार भएकाले सवारीसाधन सहजरुमा झरनासम्म पुग्दै आएको छ । ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको ढिस्को र खोल्साको गर्जनमा पर्यटकीय सम्भावनाको ध्वनि लुकेको छ । मिक्वाखोलाको फुङफुङगे झरनाको चर्चा धेरैले सुनेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार