कुलिङ अफ पिरियड विवादः यी सात जनाले गर्नेछन् छानबिन

सोमबार, २३ असार २०८२

काठमाडौं । ‘कुलिङ अफ पिरियड’ प्रकरण छानबिनका लागि सात सदस्यीय छानबिन समितिमा सदस्यहरू छनोट भएका छन् । प्रतिनिधसभाको कार्यव्यवस्था परामर्श समितिमा सात जनाको नाम दलहरूले दिएका हुन्

समितिमा कांग्रेसबाट जीवन परियार, सुशीला थिङ छन् । यस्तै, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य सदस्य छन् । माओवादीबाट माधव सापकोटा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य छन् ।

छानबिन समितिको नेतृत्व कांग्रेसलाई नै दिएको भन्दै रास्वपाले प्रतिनिधसभाको बैठकमै आपत्ति जनाएको छ । रास्वपा सांसद मनिष झाले जुन दलको सदस्यको विषयमा प्रश्न उठ्यो त्यही दलको सदस्यको नेतृत्वमा छानबिन समिति गठन नगर्ने एक वर्षअघिको बहस र सहमतिलाई उल्लंघन गर्दै कांग्रेसकै नेतृत्वमा छानबिन समिति गठन गर्न खोजिएको भन्दै उनले विरोध गरे ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति कांग्रेसकै रामहरि खतिवडा छन् । कुलिङ अफ पिरियड लागू नहुने गरी प्रतिनिधिसभाबाट संघीय निजामती विधेयक पारित भएपछि यसमा उनको समेत संलग्नता रहेको भन्दै आलोचना भइरहेको छ ।

संघीय निजामती विधेयकको दफा ८२ मा  निजामती र सरकारी सेवाका कुनैपनि कर्मचारीले अवकाश वा राजीनामा दिएको मितिले दुई वर्षसम्म अन्य कुनै सरकारी नियुक्ति लिन नसक्ने प्रावधान थियो । त्यस प्रावधान निष्प्रभावी हुने गरी ८२ को उपदफा ५ मा संवैधानिक, कूटनीतिक र सरकारी नियुक्ति बाहेक भन्ने प्रावधानले कुलिङ अफ पिरियड निष्प्रभावी बनायो ।

यो प्रावधान कहाँबाट कसरी विधेयकमा ल्याइयो र यसका को -को जिम्मेवारी छन् भन्ने विषयमा समितिले छानबिन गर्नेछ । समितिले २१ दिनभित्र प्रतिवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार