काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले अन्य प्रकरणका छानबिन गर्न बनेको संसदीय छानबिन समितिजस्तै भिजिट भिसा प्रकरणमा पनि समिति बन्नुपर्ने माग राखेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले भिजिट भिसा प्रकरणमा मात्रै किन संसदीय छानबिन समिति नबन्ने भन्ने प्रश्न गरेका छन् ।
उनले भने, ‘सहकारी ठगी प्रकरणको पनि संसदीय छानबिन समिति बन्यो। निजामती विधेयकको जुन पिरियड काण्डको पनि संसदीय छानबिन समिति बन्न गइरहेको छ। आज ४१ दिनभन्दा बढी भइसकेको छ सदन अवरुद्ध भएको । यसरी जबरजस्ती दुई तिहाइको दम्बबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । सबैभन्दा ठूलो काण्ड भिजिट भिसामा तलदेखि माथिसम्मका, प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीहरू मुसिएका छन् । त्यसको दुर्गन्ध आइरहेको छ । संसारभरि नेपालीहरूको बदनामी भइरहेको यत्रो जल्दो बल्दो भिजिट भिसामा किन छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुभएन ?’
त्यस्तै उनले उक्त प्रकरणमा छानबिन गर्नका लागि संसदीय छानबिन बन्नुपर्ने र नबनेसम्म आफूहरुले संसद बहिस्कारलाई निरन्तरता दिने बताए ।
प्रतिक्रिया