इटहरी : सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लायन्स क्लब अफ इटहरी क्रीएटिभ लेडिले एक विपन्न बालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको छ। क्लबले इटहरी उपमहानगरपालिका–५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्रा सिम्रन चौधरीलाई कक्षा १२ सम्म सम्पूर्ण शैक्षिक खर्च बेहोर्ने घोषणा गरेको हो।
डिस्ट्रिक्ट गभर्नर प्रायोरिटी कार्यक्रमअन्तर्गत सञ्चालित यो छात्रवृत्ति योजनामा छात्रालाई वार्षिक रूपमा दुई जोर पोशाक, स्कुल झोला, कापी, किताब, लेखन सामग्रीदेखि लिएर मासिक पढाइ शुल्क समेत प्रदान गरिनेछ। क्लबकी अध्यक्ष स्मृति सापकोटाका अनुसार सिम्रनको सम्पूर्ण अध्ययनको जिम्मा क्लबले लिएको छ।
विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा क्लबका पदाधिकारीहरूसँगै एरिया ४ का एरिया चिफ भोजराज दाहाल, एरिया कोर्डिनेटर टङ्क फुयाल, विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी भट्टराई, शिक्षक, क्लबका पूर्व अध्यक्षहरू, सदस्यहरू र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै एरिया चिफ दाहालले लायन्स क्लबको यो पहल सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताए। उनले विपन्न समुदायका बालबालिकाको शिक्षामा यस प्रकारको सहयोगले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया