निर्वाचनमा गठबन्धनको विरोध गरेका कांग्रेस खोटाङ सभापति राई पार्टीबाट निष्कासित

भन्छन्, ‘स्वाभिमान बेचिन सक्दैन’

बुधबार, २५ असार २०८२

इटहरी डेक्स : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै खोटाङ जिल्ला सभापति विष्णु कुमार राईलाई पार्टीको साधारण सदस्यबाट एक वर्षका लागि निष्कासन गरेको छ।

बी.पी.स्मृति भवन, ललितपुरस्थित केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिएको पत्रमा उल्लेख गरिएअनुसार, २०७९ सालको संघ र प्रदेश निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार तथा गठबन्धनको निर्णयप्रति असहयोग गरेको उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको थियो। सो सम्बन्धमा मागिएको स्पष्टिकरण चित्तबुझ्दो नदेखिएको भन्दै पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ अनुसार उक्त निर्णय गरिएको हो।

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले हस्ताक्षर गरेको पत्र अनुसार राईको कारबाहीको जानकारी कोशी प्रदेश कांग्रेस, खोटाङ जिल्ला कार्यसमिति, सम्बन्धित निर्वाचन क्षेत्र र पालिका समितिहरूलाई समेत दिइएको छ।

यस निर्णयप्रति प्रतिक्रिया दिँदै विष्णु कुमार राईले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्,

“राजनीतिमा सधैँ प्राप्ति मात्र हुँदैन, गुमाउनु पनि पर्छ। ३५ वर्षे निरन्तर राजनीतिक यात्रामा कहिले उकालो, कहिले ओरालो छिचोलिएको छ। २०७९ सालको गठबन्धनका क्रममा खोटाङ काँग्रेसलाई केन्द्रिय नेतृत्वबाट सुनियोजित ढंगले भएको ठूलो अन्याय र अपमान म स्वाभिमानी कार्यकर्ता विष्णु कुमार राईका लागि सह्य थिएन।”

उनले पार्टी नेतृत्वद्वारा गरिएको निर्णयलाई 'महत्वपूर्ण सम्मानपत्र'का रूपमा लिँदै, आफू स्वाभिमानी र निष्ठावान खोटाङे काँग्रेसीहरूसँग सधैं रहने बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार