विराटनगरमा श्रमिकद्वारा न्यूनतम पारिश्रमिक बृद्धि र श्रम कानून कार्यान्वयनको माग

विहीबार, २६ असार २०८२

विराटनगर । न्यूनतम पारिश्रमिक बृद्धि र श्रम कानूनको प्रभावकारी कार्यान्वयनको माग गर्दै विराटनगरमा श्रमिकहरूले दबावमूलक र्यालीको आयोजना गरेका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, कोशी प्रदेशको अगुवाइमा आयोजित र्याली स्थानीय संसारीमाइस्थानबाट सुरु भई महेन्द्र चौकमा कोणसभासहित सम्पन्न भयो।

कोणसभामा श्रमिक नेताहरूले श्रम ऐनको अक्षरस पालना र सामाजिक सुरक्षामा सबै श्रमिकको समावेशको माग गरे। अखिल नेपाल मजदुर संगठनका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको हकमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे। नेपाल ट्रेड युनियन कांग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले न्यूनतम पारिश्रमिक ३० हजार ४ सय ४३ रूपैयाँ हुनुपर्ने माग गरे।

मोरङका श्रमिक नेताहरू सुशील कोइराला र धर्मलाल माझीले श्रम ऐनको सुधार र न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न जोड दिएका थिए। उनीहरूले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न सरकारसँग माग गरे।

कोणसभापछि पाँचबुँदे ज्ञापनपत्र कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई बुझाइएको थियो। मन्त्री राईले श्रमिकका जायज मागप्रति सरकार गम्भीर रहेको र उनीहरूको हक अधिकार सुनिश्चित गरिने आश्वासन दिए।

र्यालीमा विराटनगर तथा आसपासका उद्योगहरूमा कार्यरत श्रमिकको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार