कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

विहीबार, २६ असार २०८२

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ । एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको हो ।

विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउदा पठनपाठनमा असहजता भइरहेको अवस्थामा घेराबाराले सहजता भएको विद्यालयका प्रधानाध्यापक प्रशुराम काफ्लेले बताए । मुलबाटो छेउको विद्यालय भएकाले घेराबारा भएपछि विद्यालय सञ्चालनमा सहजता भएको उनको भनाइ छ ।

नजिककै हाटबजार लाग्ने भएकाले मादक पदार्थ खाएर मानिसहरु प्रबेश गरिदिँदा धेरै समस्या रहेकोमा अहिले सहजता भएको उनको भनाइ छ ।

‘विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो’ उनले भने,’विद्यालयको चौरमा गाइबस्तु पसिदिँदा विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरुको प्रवेश हुँदा शिक्षण सिकाईमा असर पुगेको अवस्था थियो । घेराबारा भएपछि विद्यालयको भौतिक सम्पतिको सुरक्षासँगै पठनपाठनमा सहजता छ ।’

घेराबारा नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि वडाले दुई लाख बजेट विनियोजन गरेर घेराबारा लगाएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए । विद्यालयसँगै विद्यार्थीको सुरक्षाको लागि अन्य कामलाई थाती राखेर विद्यालयको घेराबारा गरिएको उनले भनाइ छ ।

‘वडामा सीमित बजेट हुन्छ’वडाध्यक्ष शेर्पाले भने,’स्थानीयको माग धेरै छ । घेराबारा नुहँदा विद्यालय सञ्चालनमा समस्या भएपछि अन्य कामलाई थाती राखेर यो काम गरेका हौँ । घेराबारा गरिएपछि विद्यालय सञ्चालनमा सहजता छ ।’

वडाले स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उनको भनाइ छ । वडाको काममा पारदर्शिता ल्याउन वर्षभरी सञ्चालन भएका काम र भावी दिनमा हुन लागेका योजना लाई स्थानीय भेला गरेर सार्वजनिक सुनुवाईमार्फत जानकारी दिँदै आएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार