विराटनगर : मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ। बेलबारी नगरपालिका–८ स्थित बाँसबारी टोलकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको आइतबार बिहान हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार अमिना राजवंशी स्थानीय ३५ वर्षीया वन्दना राजवंशीसँगै राति करिब ३ बजेतिर घरनजिकैको खेतमा सिँचाइका लागि पानी लगाउन गएकी थिइन्। सो क्रममा एउटा जङ्गली हात्ती खेततर्फ आइपुगेर अचानक आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन्।
उनलाई तत्काल उद्धार गरी विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो। तर, उपचारका क्रममा बिहान ८ बजेर ४० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
सोही घटनामा संलग्न वन्दना राजवंशी भने ज्यान जोगाएर भाग्न सफल भएकी छन्। हात्तीको आक्रमणपछि स्थानीयले होहल्ला गरेसँगै हात्ती जङ्गलतर्फ फर्किएको बताइएको छ।
घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। हाल प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
बेलबारी आसपासका क्षेत्रहरू केही समयदेखि जङ्गली हात्तीको आक्रमणको जोखिममा परिरहेका छन्। स्थानीयवासीहरू रातको समयमा खेतमा जान डराउन थालेका छन्।
प्रतिक्रिया