इटहरी : इटहरी उपमहानगरपालिका–५ स्थित जनता बहुमुखी क्याम्पसले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सहकार्य सम्झौता गरेको छ।
हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको श्री जेजेटी विश्वविद्यालयसँग असार २४ र २५ गते भएको औपचारिक सम्झौताबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सम्झौताले विद्यार्थी र प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान,अन्तर्राष्ट्रिय सेमिनार–कार्यशाला, नवप्रवर्तन, पाठ्यक्रम सुधार, सांस्कृतिक सहकार्यलगायत बहुआयामिक सहकार्य समेटेको छ।
सम्झौतामा बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति डा. एच.एल. वर्मा,रजिस्ट्रार डा.विनोद कुमार,सहायक रजिस्ट्रार नवीन कपिललगायत उच्च प्रतिनिधिमण्डल सहभागी थियो।
त्यस्तै,श्री जेजेटी विश्वविद्यालयका कुलपति डा.देवेन्द्र सिंह ढुल,रजिस्ट्रार डा.अजित कस्वां,सहायक रजिस्ट्रार श्री कपिल,डा.मधु गुप्ता,डा. इकरामलगायत उपस्थित थिए।
जनता क्याम्पसको तर्फबाट सञ्चालक समिति अध्यक्ष विकास केसी,भर्ना संयोजक चन्द्रप्रसाद भट्टराई,सहायक क्याम्पस प्रमुख राजन भट्टराई,स्ववियु सभापति सहदेव काफ्ले,बीआइसीटी विभाग प्रमुख मन्दीप भट्टराई तथा सम्झौताको मध्यस्थकर्ता डा.वेणुप्रसाद सिटौला सहभागी थिए।
डा.सिटौलाका अनुसार करिब एक वर्षअघि उनले सात विश्वविद्यालयमा प्रस्ताव पठाएका थिए, जसमध्ये पाँचले सहमति जनाएका र दुईसँग हाल औपचारिक सम्झौता गरिएको हो।
कार्यक्रममा सञ्चालक समिति अध्यक्ष केसीले “शिक्षामार्फत सहकार्य, सहकार्यमार्फत समृद्धि” भन्ने सन्देश बोकेको यो सम्झौताले जनता क्याम्पसलाई अनुसन्धान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने विश्वास व्यक्त गरे।
छात्रावास निर्माणमा पनि ठुला उपलब्धि
पत्रकार सम्मेलनमा विगत दुई वर्षमा क्याम्पसले गरेका उपलब्धिहरू पनि सार्वजनिक गरियो।
छात्रावास निर्माणका लागि इटहरी उपमहानगरको सिफारिस र सहरी विकास मन्त्रालयको पहलमा राष्ट्रिय योजना आयोगबाट बहुवर्षीय योजना अन्तर्गत साढे चार करोड रुपैयाँ बजेट पार्न सफल भएको जानकारी दिइयो।
हाल एक करोड ४२ लाख रुपैयाँको काम सुरु गरिने जनाइएको छ ।
यो सम्झौता तथा पूर्वाधार विकासले जनता क्याम्पसलाई प्रदेशमै अग्रणी शैक्षिक संस्थाका रूपमा उभ्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया