खानेपानी नदिएको भन्दै उपत्यका खानेपानी लिमिटेड कार्यालयमा लगाइयो ताला

सोमबार, ३० असार २०८२

काठमाडौँ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को त्रिपुरेश्वरस्थित कार्यालयमा आम जनता पार्टी (आजपा) निकट आम सुकुम्वासी तथा अव्यवस्थित बसोबास सङ्घले तालाबन्दी गरेको छ।

काठमाडौँको सुकुम्वासी बस्तीमा खानेपानी रोकिएको भन्दै सुकुम्वासी सङ्घले विगत ६ दिनदेखि धर्ना र घेराउ गर्दै आएकोमा, सोमबार माग सुनुवाइ नभएको भन्दै तालाबन्दी गरिएको हो।

आजपा प्रवक्ता चन्द्रभुषण साहका अनुसार, आफूहरूको आवाज पटक–पटक सरकारसम्म पुर्‍याउँदा पनि बेवास्ता भएपछि यो कदम चाल्नुपरेको हो। सङ्घका अध्यक्ष कालबहादुर विकले “खानेपानी नदिएर सरकार मानवता विरोधी अपराधमा उत्रिएको” आरोप लगाए।

‘पानी अधिकार हो, आशीर्वाद होइन’ भन्ने नारासहित प्रदर्शनमा उत्रिएका सहभागीहरूले हात हातमा खाली गाग्री बोकेर चर्को नाराबाजी गरे। उनीहरूले ‘घरघरमा पानी दे’, ‘खानेपानीको विभेद अन्त्य गर’, ‘खानेपानी चोर कुर्सी छोड’ जस्ता नारासमेत लगाएका थिए।

आजपाका नेता त्रिभुवन साहले माग सुनुवाइ नभए नेताहरूको ढोका र सिंहदरबारसमेत तालाबन्दी गर्ने चेतावनी दिएका छन्।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसद्मा पनि यो विषयमा आवाज उठाउँदै आएका छन्। उनले तराई–मधेसदेखि काठमाडौँसम्म खानेपानी र सिचाइको समस्या गम्भीर बनेको भन्दै सरकारले तत्काल ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार