धरान : धरान उपमहानगरपालिका–१ स्थित छाता चौकमा सञ्चालित स्वास्थ्य चौकी दशक लामो समयसम्म पनि प्रभावकारी बन्न सकेको छैन।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको जग्गामा सञ्चालनमा रहेको यस स्वास्थ्य संस्थाले गुणस्तरीय सेवा दिन नसक्दा नागरिकको स्वास्थ्य अधिकारसमेत प्रभावित भएको छ।
स्थानीय तहलाई संविधानले आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न जिम्मेवारी तोकेको भए पनि धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको यो चौकी आवश्यक सेवा दिन असफल देखिएको छ। न त आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको छ, न त दक्ष जनशक्ति र प्रविधिको सुनिश्चितता छ।
पहिले वीपी प्रतिष्ठानले सो क्षेत्रलाई ध्यानमा राख्दै सय शैयाको आधुनिक अस्पताल निर्माण गर्ने र ओपीडी, ल्याब, एक्स-रे, तथा अल्ट्रासाउण्ड सेवा उपलब्ध गराउने योजना अगाडि सारेको थियो। सामान्य र स्वास्थ्य बीमाका बिरामीहरूको चापले जटिल केसहरूको उपचारमा असर परिरहेकाले वैकल्पिक सेवाको आवश्यकता महसुस गरी उक्त योजना ल्याइएको थियो।
तर, उपमहानगरपालिकाले त्यही क्षेत्रमा ‘सुविधा सम्पन्न नगर अस्पताल’ बनाउने योजना अघि सारेपछि प्रतिष्ठानको योजना अलपत्र परेको छ। हालसम्म नगर अस्पताल निर्माण कार्य सुरु हुन नसक्दा उपमहानगरपालिकाको योजना व्यवहारभन्दा नारामै सीमित देखिएको छ।
स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रप्रकाश खनालका अनुसार नगर अस्पतालको योजना अझै कार्यान्वयन प्रक्रियामै रहेको छ। तर दशक लामो प्रतीक्षामा स्थानीय नागरिक निराश छन्।
सेवा प्रवाह कमजोर, संरचना जीर्ण
धरान उपमहानगरपालिकाको वर्थिङ सेन्टरसमेत प्रभावकारी रूपमा सञ्चालनमा छैन। १ बिघा १३ कठ्ठा १४ धुर क्षेत्रफलमा फैलिएको प्रतिष्ठानको स्वामित्वको जग्गा र जीर्ण भवनहरूमा सञ्चालित चौकी हाल अहेव (स्वास्थ्य सहायक) र अनमी (सहायक नर्स मिडवाइफ) स्तरका कर्मचारीद्वारा सेवा दिइरहेका छन्।
स्वास्थ्य सेवा क्षेत्रमा स्थानीय तहको कमजोर प्रतिबद्धता देखिएको पूर्व सुनसरी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख श्रीराम साह बताउँछन्। उनका अनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई दिने सेवा अन्य स्थानीय तहको तुलनामा धरानमा निकै कमजोर छ।
धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले 'सिटी अस्पताल' निर्माणको चर्चा बारम्बार गरे पनि अहिलेसम्म कुनै ठोस कार्य अगाडि बढाइएको छैन। धरान उपमहानगरपालिका वडा नं.१ का वडा अध्यक्ष यज्ञमणि आचार्यले भविष्यमा आधुनिक अस्पताल निर्माणको योजना रहेको दाबी गरे पनि हालसम्म त्यसको कुनै प्रारम्भिक तयारीसमेत नदेखिएको स्थानीय वासीहरूको गुनासो छ।
संघीय संरचनामा स्थानीय सरकारलाई जनताको आधारभूत आवश्यकताहरू विशेष गरी स्वास्थ्य र शिक्षाको जिम्मेवारी दिइएको छ। तर, धरान उपमहानगरपालिकाको स्वास्थ्य चौकीको वर्तमान अवस्था हेर्दा योजनाको कार्यान्वयनमा गम्भीर कमजोरी देखिन्छ। स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो, तर अहिलेको अवस्था हेर्दा त्यो अधिकार खोक्रो नारा मात्रजस्तो देखिन्छ।
सञ्चालनमा रहेका योजनाहरूलाई व्यवहारिक बनाउँदै, पूर्वाधार र सेवा सुधारतर्फ ध्यान दिन नसके धरानको स्वास्थ्य सेवाले आगामी दिनमा अझ गम्भीर सङ्कट निम्त्याउने सम्भावना छ।
प्रतिक्रिया