दोलखाको यलुङरी हिमालमा हिमपहिरो: ५ विदेशीसहित २ नेपालीको मृत्यु

मंगलबार, १८ कार्तिक २०८२
सांकेतिक तस्बिर

दोलखा : गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङखलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक यलुङरी हिमालको आधार शिविरनजिकै हिमपहिरोमा पर्दा सात जनाको मृत्यु भएको छ ।

सो घटनामा पाँच जना घाइते भएका छन् ।

मृत्यु भएका मध्ये दुई जना नेपाली र पाँच जना विदेशी नागरिक छन् । विदेशीमध्ये तीन जना अमेरिकी, एक जना क्यानडाली र एक जना इटालीका नागरिक रहेको प्रहरीले जनाएको छ ।

आरोहणका लागि गएका विदेशी तथा नेपाली पथप्रदर्शकहरूको समूह सोमबार यलुङरीनजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले जानकारी दिए । ना गाउँबाट ६ हजार ३ सय ३४ मिटर अग्लो डोल्मा थाङतर्फ हिँडेका उनीहरू सोमबार बिहान करिब साढे १० बजे हिमपहिरोमा परेको जनाइएको छ ।

हिमपहिरोमा परेपछि घाइतेहरूले ना गाउँमा रहेका आरोहणमा सहभागी नभएका साथीहरूलाई सहयोगका लागि खबर गरेका थिए । तर, समयमै उद्धार हुन सकेन ।

सूचना ढिलो प्राप्त भएकाले उद्धारमा चुनौती थपिएको डीएसपी महतोले बताए ।

‘सूचना आएलगत्तै जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको थियो,’ उनले भने, ‘मौसम प्रतिकूल भएकाले हेलिकोप्टर उड्न सकेन, पैदल उद्धार सम्भव थिएन । मङ्गलवार (आज)देखि उद्धार कार्य सुरु हुनेछ ।’

घटनास्थल लामाबगरबाट करिब ८ घण्टाको पैदल दूरीमा पर्छ । सम्पर्कविहीनहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । हेलिकोप्टर पठाइए पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण हुन नसकेको जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीनै सुरक्षा निकायको टोली परिचालन गरिएको बताए ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बीओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरी गरी करिब ५० जनाको संयुक्त टोली घटनास्थलतर्फ प्रस्थान गरेको उनले जानकारी दिए ।

केही दिनदेखि रोल्वालिङ क्षेत्रको मौसम खराबी भई हिमपात भएको थियो । हिमपात भएपछि ना गाउँका स्थानीय बेदिङ झरेका थिए । आइतबारदेखि मौसम सुधार हुँदै गएपछि आरोहण टोली यलुङरीतर्फ गएको थियो ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार