बीपी कोइरालाको ४३ औँ स्मृति दिवसमा इटहरीमा हाजिरीजवाफ प्रतियोगिता

मंगलबार, ०६ साउन २०८२

इटहरी : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा इटहरीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ। नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको आयोजनामा आयोजित उक्त प्रतियोगितामा इटहरीका २० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगिता इटहरी–८ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका कार्यबाहक अध्यक्ष कोबिद जंग कार्कीको अध्यक्षता रहेको थियो भने नेपाली काँग्रेस सुनसरीका उपसभापति नगेश चन्द्र राई प्रमुख अतिथि थिए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बीपी कोइरालाको विचार, जीवन–दर्शन, लोकतान्त्रिक मूल्य, समाजवाद र समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुहरूमा आधारित प्रश्नहरूको जवाफ दिए। आयोजकहरूले कार्यक्रमको उद्देश्य नयाँ पुस्तामा बीपी कोइरालाको योगदानप्रति सचेतना जगाउने र उनीहरूको आदर्शबाट प्रेरणा लिन उत्प्रेरित गर्ने रहेको जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नगेश चन्द्र राईले बीपी कोइरालालाई सम्झनु मात्र पर्याप्त नहुने भन्दै उहाँको आदर्श अनुसार राष्ट्र निर्माणमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए। “बीपीजस्तो बन्ने सपना देख्नुपर्छ,” उनले भने।

प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय प्रथम बनेको छ। विजेता विद्यालयलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ। विश्व आदर्श कलेज दोस्रो हुँदै ७ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गर्न सफल एडुटेक कलेज इटहरीले ५ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरेको छ।

कार्यक्रममा नेपाली कांग्रेसको कोशी प्रदेश सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य सुर्य राई, जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केशी, नेपाल विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराई, महाधिवेशन प्रतिनिधि बिमला ढकाल, पार्टी नेता, शिक्षक, विद्यार्थी तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन नेपाली काँग्रेस इटहरी उपमहानगर समितिका सचिव मन्दिप भट्टराईले गरेका थिए। आयोजक समितिले हाजिरीजवाफ प्रतियोगितालाई नियमित कार्यक्रमका रूपमा अगाडि बढाउने तयारी रहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार