जनकपुर । विगत केही महिनादेखि धनुषाका विभिन्न क्षेत्रमा देह व्यापार फस्टाउँदै गएको पाइएको छ । खास गरी धनुषाको ढल्केवर र आसपासका क्षेत्रहरूमा अवैध देह व्यापार हुने लज, डान्सबारहरु सञ्चालनमा आइरहेको छ ।
स्थानीयहरूले यस सम्बन्धमा धनुषा प्रहरीलाई जानकारी गराएपछि ती अवैध लज र डान्सबारहरुमा प्रहरीले छापा मार्न थालेका छन् । सोही क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकामा अवैध देह व्यापारमा संलग्न आरोपमा सात जनालाई प्रहरी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले सोमबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ स्थित दुई वटा होटेलमा छापा मारेको छ ।
प्रहरीले मानव होटल र गोदावरी होटल मा छापा मार्दा मानव होटेलबाट ३ जना महिला, तीन जना पुरुष सहित सञ्चालक राजेन्द्र महतोलाई पक्राउ गर्न सफल भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
यस्तै, गोदावरी होटेलबाट १ जना महिला र १ जना पुरुषलाई पक्राउ गरेको छ । उक्त होटेलका सञ्चालक विजय राउत भने फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ भने फरार होटल सञ्चालक राउतको खोजी जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।
यस अघि ढल्केवर र महोत्तरीको बर्दिबासका विभिन्न स्पा एण्ड मसाज सेन्टर तथा डान्स बारमा प्रहरीले छापा मारेका थिए । ढल्केवरको डान्स बारमा भारतीय पर्यटक र युवाहरूको दिनहुँ घुँईचो लाग्न थालेपछि होहल्ला र झैझगडा हुने गरेको थियो ।
प्रतिक्रिया